Logo

दशैंतिहार सुरक्षा योजना सार्वजनिक, १० हजार प्रहरी परिचालन हुने



नेपालीहरुको महान् चाड नजिकिएसँगै महानगरीय प्रहरी कार्यालयले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण थलिएको राजधानीको शान्ति स्ुरक्षालाई कायम राख्न सो कार्यालयले उक्त योजना सार्वजनिक गरेको हो ।

राजधानीको सुरक्षाका लागि १० हजार प्रहरी परिचालन हुने महानगरी प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राजधानीको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउन १० हजार प्रहरीलाई परिचालन गर्नेछांै र राजधानीबासीलाई विनाझन्झट चाड मनाउन प्रहरी २४सै घण्टा परिचालन हुनेछ ।’

यसपटकको अवस्था भिन्न रहेकाले उपत्यकामा कार्यरत सबै प्रहरीलाई बिदा नदिने र जनताको सुरक्षामा खटिन निर्देशन दिइसकेको पनि डीआईजी पोखरेलले बताउनुभयो । चाडबाडको मौका छोपेर हुन सक्ने अपराधलाई निर्मूल गर्न सम्भावित क्षेत्रमा प्रहरीका साथै तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने योजना सो कार्यालयले बनाएको छ ।

सो कार्यालयले चाडबाडमा विभिन्न व्यक्तिले दिने उपहार नलिनसमेत मातहतका निकायलाई निर्देशन दिएको पनि डीआईजी पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विपत्मा परेका जनताको सुरक्षाका लागि प्रहरीको आचरणमा समेत सुधार ल्याउन आग्रह गरेका छौं ।’

चाडबाड नजिकिएसँगै विभिन्न प्रकारका अपराध गर्ने व्यक्तिहरु सक्रिय हुने भएकाले त्यस्ता व्यक्तिहरुको पहिचान गर्ने र अपराध गर्नुपूर्व नै उनीहरुलाई पक्राउ गरेर कारबाही अगाडि बढाउने योजनासमेत सो कार्यालयले बनाएको छ ।

प्रहरीले आर्थिक गतिविधि बढी हुने ठाउँमा विशेष निगरानी राख्नुका साथै व्यवसायीहरुलाई पनि होसियारीपूर्वक आफ्ना गतिविधि सञ्चालन गर्न अनुरोधसमेत गर्दै आएको छ ।

चाडबाडको मौका छोपेर हुने विभिन्न प्रकारका अनैतिक क्रियाकलापलाई निरुत्साहन गर्न त्यस्ता ठाउँको पहिचान गरी खानतलासी गर्ने कामलाई समेत उपत्यकाका तीनै जिल्ला प्रहरी कार्यालयले तीव्ररुपमा अनुगमन शुरु गरिसकेको छ ।

अपराधविहीन समाजको कल्पना गरेको उपत्यका प्रहरी कार्यालयले कार्य सम्पादनका सम्झौता नगर्ने समेत बताएको छ । जनताको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै आएको सो कार्यालयले चाडवाडमा हुने कुनै पनि अवैध क्रियाकलापलाई निरुत्साहन गर्ने रणनीति अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता