डा. केसीलाई अनशन अन्त्य गर्न आग्रह गर्दै सरकारी वार्ता टोलीले जारी गर्यो विज्ञप्ति

शुक्रबार रातिदेखि रोकिएको वार्ता सुरु भएन, अनशन तोड्न सरकारको तेस्रो आग्रह
वार्ता टोलीसहित शिक्षामन्त्री बालुवाटार पुगेपछि आयो विज्ञप्ति
आश्विन २४, २०७७सुदीप कैनी
काठमाडौँ — २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले फेरि अनशन अन्त्य गर्न आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयको लेटर प्याडमा विज्ञप्ति जारी गर्दै सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको बेला अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् । यो समेत सरकारले १९ औं अनशनमा रहेका डा. केसीलाई सरकारले तेस्रोपटक अनशन तोड्न आग्रह गरेको हो । यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा मैनालीले पनि अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
शुक्रबार राति डा. केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो । केहीबेर अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । त्यसपछि विज्ञप्ति आएको हो । ‘कोरोनाको विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्त समिति विनम्रपूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
बिहीबार र शुक्रबार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो । वार्ताका क्रममा केसीका मागबारे सरकारको धारणा स्पष्ट पारिएको मैनालीले जनाए । चिकित्सा शिक्षा ऐन, नियमावली जारी भईसकेको, चिकित्सा शिक्षा आयोग बनेर एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र र सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति लगायत नियमन सम्बन्धि व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गेटा मेडिकल कलेजको भवन निर्माण सम्पन्न भइसकेको जनाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठनपाठनका लागि मूल्याङ्कन प्रतिवेदन प्राप्त भइसकेको सरकारी वार्ता टोलीले जनाएको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिबास, बुटबल, सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजनाको काम भइरहेको तथा केसीको मागअनुसार अन्य ठाउँमा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको मैनालीले बताए ।
शुक्रबार राति वार्ता स्थगित भएपछि डा. केसी पक्षले दबाबका लागि सडक आन्दोलनको घोषणा गरेको छ । केसी पक्षीय वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले वार्ताको सम्भावना पूरै बन्द नभएको र वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न आफूहरु लागिरहेको बताए ।
हेर्नुस् विज्ञप्ति :