ताजा समाचार

जग खन्दा भेटिएको मूर्तिले थप्यो लिच्छवि इतिहासमा नयाँ अध्याय

संयोगले पनि इतिहासका कतिपय लुकेर रहेका विषय जान्न मद्दत पुर्‍याउँछ।

कतै बारी खन्दा, कतै घरको जग खन्दा, कतै सडक बनाउँदा, कतै पहिरो जाँदा पृथ्वीको गर्भमा लुकेर रहेका अतीतका ऐतिहासिक दस्तावेज पाउने क्रम विश्वमै हुन्छन्।

यस्तै घटना नेपालमा पनि बेलाबेला सुनिन्छ। इतिहास पहिल्याउने काममा तिनले सहयोग पुर्‍याइरहने कुरा स्मरणीय छ।

विक्रम सम्बत् २०४९ वैशाख अन्तिम सातातिर काठमाडौंको मालीगाउँमा रामध्वज खड्काको जग्गामा घरको जग खन्दा पादपीठमा लिच्छवि लिपिमा लेखिएको १७१ सेन्टिमिटर उचाइ र ४९ सेन्टिमिटर चौडाइको एक प्रस्तर मूर्ति पाइयो।

पिकले खन्दा छिन्नभिन्न भएको उक्त मूर्तिबारे जब सञ्चारमाध्यमहरूले जानकारी गराए, सबैको ध्यान त्यता गयो। पुरातत्त्व एवं इतिहासका पारखीले त्यसबारे आ–आफ्ना विचार व्यक्त गरी जयवर्मा र शिलालेखबारे अनेकौं अनुमान लगाए।

मालीगाउँ पुरातात्विक दृष्टिले समृद्ध मानिन्छ। यहाँ पुरातात्त्विक उत्खनन क्रममा होस् वा बारी र घरको जग खन्दा, प्राचीन अवशेषहरू पाइने गरेको घटना नयाँ होइन। मालीगाउँ, हाँडीगाउँ क्षेत्रमा प्राचीन मूर्ति, मन्दिर एवं शिलालेखहरू निकै छन्। त्यो पुरातात्त्विक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ।

मालीगाउँको अहिलेको प्राप्ति पनि धेरै दृष्टिबाट महत्वपूर्ण छ।

पहिलो कुरा, लिच्छविकालमा व्यक्ति-विशेषका मूर्तिहरूको उल्लेख पाइए पनि मूर्ति भने आजसम्म पाइएका थिएनन्। अहिले जयवर्माको मूर्ति नै पाइएको छ, त्यो पनि शिलापत्रसहित छ।

दोस्रो कुरा, लिच्छविकालमा ‘वर्मा’ भनिने क्षत्रीयहरूमा विप्रवर्मापछि अर्का एक जनाले ‘महाराज’ पदवी पाएको देखिन आएको छ।

यसरी मूर्तिकला र राजनीतिक इतिहासमै यो प्राप्तिले केही नयाँ तथ्य उघार्न सफल भएको छ।

यसको कालनिर्धारण मूर्ति र पादपीठको शिलालेखको अक्षर वा त्यसको शैली मात्र विचार गरेर अलगअलग रूपमा गर्‍यौं भने त्यो एकांगी हुन्छ। यस्तोमा मूर्तिको बनौट, प्रचलन, शैली तथा पादपीठ र मूर्तिकलाको दृष्टिले अहिलेसम्म यसबारे कसैले नलेखे पनि पादपीठको शिलापत्रका आधारमा केही लेख जनसमक्ष आइसकेका छन्।

लिपि विशेषज्ञ हेमराज शाक्य यो दोस्रो शताब्दीको हुन सक्ने सम्भावना देख्नुहुन्छ भने डा. दिनेशचन्द्र रेग्मी इस्वीको चौथो शताब्दीको आरम्भतिर चलेको कुनै नयाँ सम्बत् होला भनी सन्तोष लिनुहुन्छ। हेमराज शाक्यझैं काशीनाथ तमोट पनि दोस्रो शताब्दीको हो भन्नेमा विश्वस्त हुनुहुन्छ।

पुरातत्त्व विभागका लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी पादपीठमा उल्लिखित सम्बत् शक सम्बत् हो भनी यसलाई लिच्छविराजा मानदेव प्रथमभन्दा २७४ वर्षअघिको हो भन्ने दृढता व्यक्त गर्नुहुन्छ।

त्यस्तै, पादपीठमा उत्कीर्ण लेखलाई पनि अहिलेसम्म आ–आफ्नै ढंगबाट पढिएको छ।

पुरातत्त्व विभाग त्यहाँ उत्कीर्ण लेख ‘संवत् १०७ श्री परमदेव…महाराजेषु जय वम्म’ हो भन्छ। हेमराज शाक्य ‘संवत् १०७ श्री परमदेवष्क महाराजस्य जयवर्मन’ भनी पढ्नुहुन्छ। डा. दिनेशचन्द्र रेग्मी ‘संवत् १०७ श्री परमदेव (ड्ढ) महाराजस्य जयवर्म्म (ण) भनी पढ्नुहुन्छ।

यसलाई नियालेर पढ्दा पादपीठमा ‘संवत् १०७ श्री पञ्चदेवप्क महाराजस्(य) जयवम्म’ लेखिएको देखिन्छ। जयवर्माभन्दा पछाडिको एक अक्षर राम्ररी ठम्याउन नसकिने भई बिग्रिसकेको छ।

शंकरमान राजवंशीको भनाइ चाहिँ उक्त अभिलेखमा उत्कीर्ण सम्बत् १०७ लिच्छवि सम्बत् हो र त्यसमा २२ घटाएपछि शक सम्बत् हुन्छ भन्ने छ।

यसरी सबैको पाठभेद हुनाले लिपिकारको कुदाइमा अस्पष्टता र सिकारूपन हो भन्ने निश्चित छ। नभए नखिइएको, नबिग्रिएको एक हरफको शिलापत्रमा यसरी सबै जना अलमलिनुपर्ने कारण छैन।

मालीगाउँमा प्राप्त जयवर्माको मूर्ति। तस्बिर सौजन्य: सांग्रिला बुक्स
पादपीठको शिलालेखमा उल्लिखित सम्बतमा लिच्छविकालका अन्य शिलालेखमा झैं कुन सम्बत् हो उल्लेख नभई केवल ‘संवत् १०७’ भनिएकाले त्यसबारे तर्क-वितर्क गर्ने मौका विद्वानहरूलाई दिएको छ। जे होस्, यो शिलापत्र सम्बत् १०७ को जयवर्मा को हो भन्ने अनुमान हुन्छ।

प्राचीन कालको शिलापत्रमा अर्वाचीन कालको आभास पाइनु जति असम्भव हुन्छ, त्यति अर्वाचीन कालको शिलापत्रमा प्राचीन कालको झलक पाइनु स्वाभाविक हुन्छ। यसमा यस्तै भएको छ।

यदि यो शिलापत्र साँच्चै दोस्रो वा चौथो शताब्दीको भएको भए त्यहाँ उत्कीर्ण सबै अक्षरमा समकालिकपन पाइनुपर्थ्यो। त्यसो नभई यसमा सातौं–आठौं शताब्दीका प्रचलित अक्षरहरूमा पाइने विशेषता पनि छन्।

लिपिकारले यसमा तीनवटा ‘व’ उत्कीर्ण गरेका छन्। त्यो पनि तीनथरी शैलीमा छ। म, ज दुई–दुईवटा छ, त्यो पनि समानकारको नभई एउटा ठूलो आकारमा छ, अर्को लघु आकारमा छ। किन यसो भयो?

प्रारम्भिक लिच्छवि कालमा संस्कृतको राम्रो उन्नति थियो। भाषा एवं व्याकरणको शुद्धाशुद्धीलाई एकदमै ख्याल गरिन्थ्यो तर कुनै–कुनै शिलापत्रहरू यसका अपवाद पनि छन्। यो त्यस्तै एक अपवादभित्र पर्छ।

यी सबै कुराबाट लिपिकार वा मूर्तिकारको केही कमजोरीको स्पष्ट अभिव्यक्ति पनि उक्त प्राप्तिले दिएको छ।

जयवर्माको मूर्तिको पादपीठको अभिलेख। तस्बिर सौजन्य: सांग्रिला बुक्स
जयवर्माको मूर्ति, मूर्तिकलाको दृष्टिले त्यति उच्चकोटिको छैन। शरीरका अंग–प्रत्यंग समानुपातिक र सन्तुलित छैनन्। शरीरको तल्लो भागको अपेक्षा माथिल्लो भाग सन्तुलित बन्न नसक्दा मूर्ति स्वाभाविक बन्न सकेको छैन। दुब्लो–पातलो शरीरको तुलनामा मुहारको भाग भद्दा बन्न पुगेको छ। कानमा लगाएको ठूलो कुण्डल र हारको शैली तथा पगरीको पछाडिको गाँठो विक्रमको दोस्रो शताब्दीका भारतका कुषाणकालिक मूर्ति सम्झाउने किसिमका छन्। बाजु र चुरीमा भने प्राचीनता छैन। त्यस्तो बाजु र चुरी सातौं–आठौं शताब्दीका मूर्तिमा पनि पाइन्छन्।

नेपालमा देवदेवीका मूर्तिबाहेक व्यक्ति विशेषका मूर्ति लिच्छवि कालका नपाइएकाले व्यक्ति विशेषका मूर्तिसँग यसको तुलना गर्न सकिएन। नेपालमा पाइएका पहिलो–दोस्रो शताब्दी वा त्यसभन्दा अगाडिको मान्न सकिने मूर्तिहरूमा बाजु तथा चुरी यति मसिना नभइकन ज्यादातर सेलजस्ता मोटा, सादा बाजु एवं चुरी पहिरिएको पाइएका छन्।

यस्तो पारदर्शक बुट्टे धोती पनि देखिएको छैन। साथै, प्रारम्भिक कालका मूर्तिहरू हृष्टपुष्ट र सुडौल प्रकृतिका मात्र अधिकांश पाइन्छन्।

लिच्छविकालिक नेपालमा व्यक्ति विशेषका मूर्तिहरू पाइएको थिएन। यो मूर्तिले अब त्यसको प्रतिनिधित्व गरेको छ। परम्परामा नभएको काम जयवर्माले गरेर देखाउनुको पछिल्तिर आफ्नो सम्झना पछिसम्म रहिरहोस् भन्ने चाहना देखिन्छ। भारतमा भने व्यक्ति विशेषका मूर्ति पहिलो, दोस्रो शताब्दीदेखिका नै पाइन्छन्।

अंशुवर्मा, जयवर्मा आदि ‘वर्मान्त’ धारी व्यक्तिको उन्नति एक्कासि भएको नभई त्यसको सिलसिला त्यसभन्दा अघिदेखि नै क्रमशः बन्दै गएको देखिन्छ। लिच्छविकालका विभिन्न जातिमध्ये ‘वर्मा’ थरका क्षत्रीयहरूको आफ्नै किसिमको योगदान र महत्व रहिआएको छ। धार्मिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा यिनीहरूको राम्रो स्थान देखिन्छ। उनीहरूको लिच्छवि राजघरानासँग वैवाहिक सम्बन्ध पनि यदाकदा रहने गरेको पाइन्छ।

किन्नर वर्मा लिच्छवि कालका प्रसिद्ध राजा मानदेव प्रथमका ससुरा थिए। एकथरी वंशावलीअनुसार लिच्छविराजा शिवदेव प्रथमका भानिज अंशुवर्मा थिए। मानदेवको समय (विसं ५२२–५६२) मा नरवर्माको चर्चा पाइएको छ। उनी सामान्य नागरिकका रूपमा उल्लिखित छन्।

त्यसभन्दा अगाडिका शिलालेखहरूमा ‘वर्मा’ हरूको चर्चा पाइएको छैन। मानदेवको समयमा नरवर्मा नामका अर्का एक जना ‘वर्मा’ थरधारी व्यक्तिको चर्चा पाइन्छ।

त्यस्तै, वसन्तदेवको समयको एउटा अभिलेखमा श्रीवर्माको उल्लेख पाइन्छ। गणदेव र भौम गुप्तको सम्बत् ४८२ (विसं ६१८) को चौकिटारको अभिलेखमा दूतकका रूपमा वभ्रुवर्माको उल्लेख छ। शिवदेव र अंशुवर्माका अभिलेखमा देशवर्मा, भोगवर्मा, स्थितिवर्मा एवं महाराज विप्रवर्माको पनि उल्लेख पाइन्छ।

अंशुवर्माको उदयले ‘वर्मा’ थरका क्षत्रीयहरूको अरू बढोत्तरी गर्‍यो। अंशुवर्मा सामन्त र त्यसपछि महासामन्त भएको देखिन्छ। अंशुवर्माका विश्वासप्राप्त दूतक विप्रवर्मा गोमीले ‘महाराज’ पदवी पाएका थिए। राजकाजमा मात्र नभई ‘वर्मा’ हरू विद्याको संग्रहमा पनि लागेका थिए।

‘चान्द्रव्याकरण’ नामले नेपाल तथा भारतका प्रसिद्ध व्याकरणको रचयिता सम्भवतः चन्द्रवर्मा गोमी थिए भन्ने इतिहासकार धनवज्र बज्राचार्यको भनाइ छ। ध्रुवदेव, जिष्णुगुप्तको शासनकाल (विसं ६१७–६२२) मा चन्द्रवर्मा गोमीलाई सामन्तको रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, नरेन्द्रदेवको सम्बत् ८३ (विसं ७१६) को ललितपुर, गैरीधाराको अभिलेखमा महाप्रतिहारका रूपमा चन्द्रवर्माको उल्लेख आएको छ।

यी सबै घटनाक्रमले लिच्छवि कालमा वर्माहरूको राजकाज र राजनीतिमा रहेको प्रभाव झझल्काउँछन्।

प्रतिहार, महाप्रतिहारहरूको लिच्छवि कालमा उल्लेखनीय स्थान थियो। महाप्रतिहारले राजाको हजुरियाको कामका साथै राजा र प्रजाबीच सुसम्बन्ध कायम गर्ने काम गर्थ्यो। आदेश्वरको धुव्रदेव, जिष्णुगुप्तको अभिलेखमा ‘राजपुत्र’ नन्द वर्मा एवं उनका बाबु ‘राजपुत्र’ जिष्णु वर्माको उल्लेख पाइन्छ।

राजपुत्र भनी उल्लेख आएकाले ‘वर्मा’ हरू आफूलाई राजपुत्र भनी गौरव गर्थे भन्ने बुझिन्छ। यही राजपुत्र शब्द अपभ्रंश भई ‘राजपुत’ शब्द बनेको हो।

लिच्छवि कालको ‘राजपुत्र’ कहिलेकाहीँ राजाका उत्तराधिकारीसमेतलाई बुझाउने शब्दका रूपमा पनि प्रयोग भएको पाइन्छ। लगनटोलको सम्बत् ११९ (विसं ७५२) को अभिलेखको दूतकमा राजपुत्र जयदेवको उल्लेख छ। उनी शिवदेव द्वितीयका छोरा थिए। बाबुपछि उनी नै राजगद्दीमा बसे।

नरवर्मा तथा जिष्णुवर्माको नामअगाडि आएको ‘राजपुत्र’ शब्द युवराज भन्ने अर्थमा नभई ‘राजपुत’ भन्ने भावमा प्रयोग भएको छ। किनभने, त्यस बेला गद्दीमा लिच्छविराजाहरू थिए, तर एउटा कुरा चाहिँ स्वीकार्नैपर्छ, ‘वर्मा’हरूको राजकाजमा उल्लेख्य हात थियो तथा महत्वाकांक्षा अरू बढ्दै थियो। सामान्य नागरिकबाट उठेका वर्माहरूको राजनीतिक उत्कर्षकाल अंशुवर्मादेखि बढ्न गएको यताबाट देखिन्छ।

लिच्छवि कालमा राजनीतिक उतारचढावहरू समय–समयमा आए।

शिवदेव प्रथम (विसं ६४७–६६१) सम्म लिच्छविवंशले अकन्टक चलाएको शासनमा विविध कारणले शासनको बागडोर महासामन्त अंशुवर्मामा गयो। शासनको अन्तिम चरणमा उनी महाराजाधिराज नै बने। नेपालमा ‘महाराजाधिराज’ उपाधि लिने पहिलो व्यक्ति उनी नै भए। तर, उनमा निहीत राजनीतिक निष्ठा र सत्यप्रतिको प्रतिबद्धताले आफूपछि आफ्नो वंशमा उत्तराधिकारी नदिई लिच्छविवंशका उदयदेवलाई युवराज घोषित गराई उत्तराधिकारी बनाइ राजगद्दी सुम्पे।

पछि उदयदेवलाई राज्यच्यूत गराउने काममा उनकै गोतियारहरू तथा जिष्णुगुप्त लागे। अन्ततः सफल भए र उनलाई भगाइ छाडे।

उदयदेव तथा उनका छोरा नरेन्द्रदेव देशै छाडेर तिब्बतको शरणमा जानुपर्‍यो। त्यसपछि झन्डै तीस वर्षको समय राजनीतिक अस्थिरता र आन्तरिक कलहमा बित्यो।

उदयदेवहरू तिब्बतमा चुप लागेर बसेनन् । पुनः राजगद्दीको प्राप्तिमा उद्योग गरिरहे।

उदयदेवको सपना साकार नभए पनि उनीपछिका नरेन्द्रदेवले राजगद्दी प्राप्त गरेरै छाडे। त्यसपश्चात् सम्बत् ६७ (विसं ७००) देखि सम्बत् १०३ (विसं ७३६) सम्म परमभट्टारक महाराजाधिराजको पदवी धारण गरी नरेन्द्रदेव नेपालको उन्नतिमा जुटिरहे।

नरेन्द्रदेवको सम्बत् १०३ (विसं ७३७) र त्यसपछि एकैपटक सम्बत् ११८ (विसं ७५१) मा नरेन्द्रदेवको उत्तराधिकारी शिवदेव द्वितीयको अभिलेख पाइनुले नरेन्द्रदेवपछि राजनीतिक अस्थिरताको अनुमान हुन्छ।

अहिले मालीगाउँमा प्राप्त भएको मूर्ति एवं पादपीठमा उत्कीर्ण लेखको यसरी विभिन्न दृष्टिबाट विश्लेषण गर्दा त्यो विक्रमको आठौं शताब्दीभन्दा अघिको हुन नसक्ने देखिन्छ।

नरेन्द्रदेवको समयमा सम्बत् १०७ (विसं ७४०) मा जयवर्मा भन्ने व्यक्ति ‘महाराज’ पदवी लिई काम गरिरहेको यसले देखाउँछ। यसबाट अंशुवर्माको समयमा विप्रवर्मा ‘महाराज’ का रूपमा कार्यरत भएजस्तै त्यही परम्परामा जयवर्मा नरेन्द्रदेवको समयमा ‘महाराज’ का रूपमा काम गरिरहेको नयाँ घटनाको उद्घाटन भएको छ।

जयवर्माको उपाधि उक्त शिलालेखमा ‘महाराज’ छ। लिच्छवि कालमा ‘महाराज’ उपाधि लिच्छविराजाहरू ध्रुवदेव एवं भीमार्जुनदेवहरूले लिएको देखिए पनि राजा नै नभएका विप्रवर्मा तथा यी जयवर्माले पनि लिएको पाइनाले ‘महाराज’ पदवी हुँदैमा गद्दीनसीन भन्न नसकिने देखिएको छ। राजाका विश्वासपात्र वा राजकाजमा अघिसरा भई काम गर्ने व्यक्तिलाई पनि उक्त पदले विभूषित गर्ने चलन रहेको ती दुई घटनाबाट देखिन आएको छ।

लिच्छवि कालको त्यो परम्परा जानेर वा नजानेर राणाकालमा पनि अवलम्बन गरियो। फरक यति रह्यो, लिच्छविकालमा ‘महाराज’ हरूको राजनीतिमा त्यतिको प्रभाव थिएन, जबकि राणाकालमा गद्दीनसीन महाराजाधिराज हुँदाहुँदै सर्वेसर्वा श्री ३ महाराजहरू नै बने।

पादपीठमा उत्कीर्ण ‘दिवप्क’ लाई ‘परमदेव’ उपाधि मानी कसैले जयवर्मालाई राजाका रूपमा उल्लेख गरेका छन्। कसैले जयवर्मालाई जयदेव प्रथम तुल्याइदिएका छन्।

जयदेव प्रथम मानदेव प्रथमभन्दा सोह्रौं पुस्ताअघिका हुन् भन्ने जयदेव द्वितीयको पशुपति प्रांगणस्थित सम्बत् १५७ (विसं ७९०) को अभिलेखबाट बुझिन्छ। काशीनाथ तमोटले जयदेवको पशुपतिको अभिलेखको आशयविपरीत जयदेव प्रथमलाई मानदेवभन्दा चौध पुस्ताअघिको भनी मालीगाउँमा प्राप्त शिलालेखको सम्बत् १०७ लाई शक सम्बतका रूपमा गणना गर्नुभएको छ। दुई जना राजाको संख्या र तिनको अनुमानित समयावधि छाडेर जसरी हुन्छ जयवर्मा, जयदेव प्रथम नै हुन् भनी प्रतिपादन गर्न खोज्नुभएको छ।

जयदेव र जयवर्मा एकै व्यक्ति हुनै सक्दैनन्। डा. दिनेशचन्द्र रेग्मीले चौथो शताब्दीको प्रारम्भतिरको भनी गर्नुभएको तर्कको पुष्ट्याइँ इतिहासका अरू घटनाक्रमले स्वीकार गर्न नसकिने छ। उहाँले मालीगाउँको उक्त शिलालेखमा उत्कीर्ण ‘सम्बत् १०७ शक सम्बत् पनि होइन, सन् ५७६ (विसं ६३३) देखि प्रारम्भ भएको मानदेव सम्बत् पनि होइन, इस्वीको चौथो शताब्दीको आरम्भमा चलेको कुनै सम्बतको सुझाव दिइन्छ भने कमसेकम पुरालेखनको अनुकूल हुनेछ’ भन्ने तर्क दिनुभएको छ।

उहाँले सम्बत् १०७ इस्वीको चौथो शताब्दीको प्रारम्भमा चलेको कुनै नयाँ सम्बत् हुनुपर्छ भन्ने मान्नुभएको छ। जबकि, चौथो शताब्दीको प्रारम्भमा नेपालमा नयाँ सम्बत् चलेको आजसम्म अरू कुनै अभिलेखीय प्रमाणबाट थाहा भएको छैन।

यसरी जयवर्मालाई पहिलो शताब्दीका जयदेव नै हुन् भन्न स्पष्ट आधारहरू केही छैन। बरू वर्माहरूको शक्ति र यसको वृद्धि अंशुवर्मापछि हुँदै गएको कुरा लिच्छवि कालका अन्य शिलालेखहरूले बताउने तथा मालीगाउँमा प्राप्त उक्त मूर्ति तथा त्यसको पादपीठको लेख तथा सम्बतलाई दृष्टिगत गर्दा विक्रम संवत् ६३३ देखि चलेको मानदेव सम्बत् नै हो भन्ने देखिन्छ। यसलाई स्वीकार्दा जयवर्मा विसं ७४० का देखिन्छन्।

निष्कर्षमा मालीगाउँको यो प्राप्तिले मूर्तिकलाको इतिहासमा नयाँ उदाहरण एकातिर प्रस्तुत गरेको छ भने अहिलेसम्म अन्य शिलालेख वा वंशावलीहरूले उल्लेख नगरेको एक जना नयाँ व्यक्तिको सम्बन्धमा प्रकाश पारेको छ। साथै, यसले लिच्छवि कालको राजनीतिक इतिहासका लागि एक नयाँ अध्याय थपिदिएको छ।

हाँडीगाउँ–मालीगाउँ भेगमा पुरातात्त्विक उत्खननको कार्य हुन सके एकातिर इतिहासको विविध पक्षबारे नयाँ–नयाँ कुरा अवगत हुन सक्ने देखिन्छ भने अर्कातिर तिनको उचित स्याहारसम्भार गरी पुरातात्त्विक उत्खनन क्षेत्रका रूपमा योजनाबद्ध किसिमबाट संरक्षण गरी स्वदेशी–विदेशी पर्यटकका लागि दर्शनीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ।

यस्तो कार्यबाट नेपालको कला–कौशल र सभ्यताको झलक विश्वसामु प्रस्तुत भई त्यसबाट आर्थिकोपार्जन पनि राम्रै हुन सक्ने देखिन्छ। यस्तो कार्यक्रम विभिन्न अरू पुरातात्त्विक स्थलहरूमा पनि गर्न सके राष्ट्रकै लागि विभिन्न रूपबाट फाइदा हुने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *