ताजा समाचार

तपाईलाई थाहा छ, महात्मा गान्धीको हत्या किन गरेका थिए गोडसेले ?

उनी एकजना यस्ता व्यक्ति थिए जसले महात्मा गान्धीलाई आफ्नो आदर्श मान्दथे र उनले देखाएको बाटोमा अगाडि बढ्ने प्रण गर्दथे । उनी छुवाछुत र जातपातको भेदभावलाई मान्दैनथे । उनी थिए नाथुराम गोडसे ।

यदि उनी यस्ता थिए भने किन हत्या गरे त महात्मा गान्धीको ? उनलाई जसरी हिन्दू कट्टरपन्थी मानिन्थ्यो, के उनी त्यस्तै थिए त ? के गान्धीको हत्या गर्नु सनक वा पागल मानिसको काम होइन र ?

आखिर महात्मा गान्धीलाई हत्या गर्ने विचार गोडसेको मष्तिष्कमा कसरी आयो ? गान्धीलाई गोली हानेपछि गोडसे त्यहाँबाट किन भागेनन् र उसले प्रहरीसामू आफैं आत्मसर्पण किन गरे ? यहाँ यस्ता कयौं प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ ।

नाथूराम गोडसे एक पढेलेखेका व्यक्ति थिए । उनी आफैं एउटा पत्रिका प्रकाशन गर्दथे, जसको नाम थियो

‘अग्रणी’ । उनको जन्म १९ मे १९१० मा पुणेको चित्पावन ब्राह्मण परिवारमा भएको थियो । गोडसेका पिता विनायक वामनराव गोडसे हुलाकमा काम गर्दथे । उनको आमाको नाम लक्ष्मी थियो ।

नाथुराम एक हिन्दूवादी कार्यकर्ता र पत्रकार थिए । उनी हिन्दूवादी त थिए तर हिन्दू धर्मको नाममा थोपरिएका जातिको आधारमा भेदभाव र छुवाछुतजस्ता कुप्रथाको विरोधी थिए ।

 

यो कुरा उनले अदालतमा दिएको आखिरी बयानमा खुलाएका छन् । गोडसेले भारतको स्वतन्त्रताको ताका र विभाजन पछि आएका हिन्दू शरणार्थीहरुसँग काम पनि गरेका थिए ।

त्यही क्रममा उनलाई गहिरोगरी के लाग्यो भने भारतको विभाजनको लागि जिन्नाको मुस्लिम लिग जति जिम्मेवार छ, त्यति नै जिम्मेवार कांग्रेस पनि छ । गोडसे मान्दथे कि कांग्रेसको कुनै पनि फैसला गान्धीबिना हुन सक्दैन । तर हत्याको कारण यति मात्रै भने थिएन ।

गोड्सेले गान्धीको हत्या गर्ने अन्तिम फैसला १३ जनावरी १९४८ मा गरेको मानिन्छ । यसको कारण पनि पाकिस्तान थियो । किनकी विभाजनपछि पाकिस्तानले ५५ करोड भारु मागेको थियो ।

भारत सरकारले पहिला त उक्त रकम दिन इन्कार गरेको थियो । तर, गान्धीको दबावमा उक्त रकम पाकिस्तानलाई दिइएको थियो । उक्त कुराले हिन्दूवादीहरुलाई क्रुद्ध बनाइ दियो । गोडसे उनीहरुमध्ये एक थिए ।

गान्धी हत्याकाण्डको जाँच गरिरहेको कपूर कमिशनले लेखेको छ, ३० जनवरीभन्दा पहिला पनि गान्धीलाई मार्ने प्रयास भएको थियो । २० जनवरी १९४८ कै प्रार्थना सभाबाट करिब ७५ फिट टाढा एउटा बम फ्याँकिएको थियो ।

उक्त काण्डको क्रममा मदनलाल पाहवा नाम गरेको एक व्यक्ति गिरफ्तार भएका थिए, जबकि ६ अन्य व्यक्तिहरु ट्याक्सीमा चढेर भाग्न सफल भएका थिए । गान्धीको हत्या गर्न १९३४ पछिको यो पाँचौं प्रयास थियो ।

राष्ट्रीय स्वयंसेवक संघका कार्यकर्ताहरुमध्येकै कोहीलाई यो जिम्मेवारी दिन चाहिएको थियो । तर उक्त प्रयासहरु असफल भएपछि नाथुरामले नै उक्त जिम्मा आफ्नो काँधमा लिए ।

त्यसपछि नारायण आप्टे र विष्णु रामकृष्ण करकरेले पहिले नै दिल्ली पुगेर स्थितिबारे जानकारी लिएका थिए । पुनः २७ जनवरीमा मुम्बईबाट विमानमा आप्टे र गोडसे दिल्ली पुगे ।

निर्धारित कार्यक्रम अनुसार गोडसे र आप्टे दिल्ली पुगे । त्यहाँ उनीहरुलाई करकरेले हत्याको लागि पेस्तोल नभेटिएको बताए । यो थाहा पाएर गोड्से र आप्टे चिन्तित भए । त्यसपछि गोडसेको सुझाव अनुसार भोपाल पुगेर पेस्तोल ल्याउने योजना बन्यो ।

गोडसे र आप्टे रेलबाट त्यही दिन भोपाल गए । त्यहाँ उनीहरुले आफ्नो एक साथीसँग भेटे जसले उनीहरुलाई एउटा सेमी अटोमेटिक पेस्तोल दिए । उनीहरु दुवै २९ तारिखमा पुनः दिल्ली पुगे ।

दिल्ली फर्किएपछि गोड्से र आप्टे दिल्लीको कनोट प्लेसस्थित मरीना होटेलमा बसे । उनीहरुले होटेलमा आफ्नो नाम एम देशपाँडे र एस देशपाँडे लेखाएका थिए । त्यसैगरी करकरे आफ्नो एक साथीका साथ चाँदनी चोकको एक होटेलमा बसेका थिए ।

३० जनवरीको दिउँसो करिब ३ बजे गोडसे, आप्टे र करकरे बिडला हाउस जान निस्किए । गोडसेले आप्टे र करकरेलाई पहिला आफू उक्त घरमा घुस्ने बताए र पछि उनीहरु दुवैलाई आउन अह्राए । गोडसे जब बिडला हाउसमा पुगे, त्यहाँ खासै जाँचपड्ताल भइरहेको थिएन । उनले सजिलै पेस्तोल लिएर भित्र पस्न पाए ।

केही बेरपछि आप्टे र करकरे पनि उनको आसपास उभिए । गोडसे ३० जनवरीको दिउँसो १२ बजे नै बिड़ला हाउस पुगेका थिए किनकी उनीहरु व्यक्तिगतरुपमा नै उक्त स्थान देख्न चाहन्थे । त्यतिबेला गान्धीसँग केवल सरदार पटेल र उनको नातिनी थिए । उनीहरु चाहन्थे कि गान्धीको हत्यापछि उनीहरु त्यहाँबाट भाग्न सकून् तर उनले त्यस्तो गरेनन् ।

त्यसो त, गान्धी सधैं समयको मामलामा प्रतिवद्ध थिए र उनी प्रार्थना सभामा सधै पाँच बजे नै पुग्ने गर्दथे । तर ३० जनवरी १९४८ मा सरदार पटेलसँगको कुराकानीको क्रममा उनलाई पता नै चलेन कि समय त धेरै बितिसकेछ ।

उक्त दिन जब आभा र मनुको साथ प्रार्थना सभाको लागि निक्लिए उनी पूरै मैदान घुमेर आउनुको सट्टा उनी सिधै मैदानमा हिँडेर मानिसहरुको बीचमा भइरहेको प्रार्थना सभातिर सोझिए । उनी जब मानिसको भिडतिर अघि बढिरहेका थिए गोडसेसँग उनको दूरी कम भइरहेको थियो । जब गान्धी गोडसेको नजिकै पुगे तब उनले प्रणाम गरे । ढिला भइसकेको भन्दै आभाले गोड्सेलाई भनिन्, ‘भाइ बाटो छाडिदिनुस्, बापूलाई पहिले नै ढिला भइसकेको छ ।’

योबीचमा कसैले केही सोच्न नपाउँदै गोडसेले आभालाई धकेलेर पछाडि पुर्‍याइदिए र अगाडिबाटै गान्धीको छातीमा तीन गोली प्रहार गरे । त्यसपछि सुरुमा त त्यहाँ कसैले केही सोच्नै सकेनन् तर एकछिनमै हायलकायलको स्थिति बन्यो ।

गोडसे भाग्नुको सट्टा आफ्नो हात माथि उठाएर प्रहरीलाई बोलाउन लागे । जब भीडमा रहेका प्रहरीले उसलाई देखे तब उसले प्रहरी बोलाएर आफ्नो पेस्तोल उनीहरुको हवाला गरिदियो । साँझ ५ बजेर ४५ मिनेट गएपछि मात्रै आकाशवाणीबाट गान्धीको निधनको सूचना राष्ट्र र जनताको लागि सार्वजनिक गरियो ।

२७ मेमा उक्त घटनाको बारेमा कारबाही सुरु गरियो । अदालतको पूर्ण कारवाहीको क्रममा एकपटक पनि गोडसेले आफ्नो बचाउ गरेनन् र गान्धीलाई आफूले हत्या गरेको स्वीकार गरे ।

८ नोभेम्बर १९४९ मा गोडसेलाई फाँसीको सजाय सुनाइयो । १५ नोभेम्बर १९४९ मा नारायण आप्टेको साथमा उसलाई पनि फाँसी दिइयो । उक्त हत्याकाण्डमा नाथुराम गोडसेसहित अन्य ८ व्यक्तिलाई हत्याको आरोप लगाइएको थियो । ती ८ मध्ये तीन आरोपीहरु शंकर किस्तैया, दिगम्बर बडगे, विनायक दामोदर सावरकरलाई पछि रिहा गरियो ।

दिगम्बर बडगेलाई सरकारी साक्षी बनेका कारण रिहा गरियो । शंकर किस्तैयालाई उच्च न्यायलयमा अपिल गरेपछि माफी दिइयो । विनायक दमोदर सावरकरको विरुद्ध कुनै प्रमाण नमिलेपछि अदालतले रिहा गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *