Logo

कोरोना कहरमा कालोबजारीलाई मस्ती, महङ्गीले सर्वसाधारण मारमा



काठमाडौं, २२ असोज । कोरोना कहरले आर्थिक रुपमा थिलथिलो भएका सर्वसाधारणले फेरि अर्को मार बेहोर्नुपर्ने भएको छ । दशैंको मुखमा भारी मूल्य वृद्धिले सर्वसाधारणको खर्च आकाशिने भएपछि मारमा पर्ने भएका हुन् ।

व्यापारीले असोज महिनाभर हरेक सामानको कुनै न कुनै जुक्ति निकालेर मूल्यवृद्धि गरेका छन् । दैनिक उपभोग्य सामाग्री सबैजसोको मूल्य बढाइएको छ । अहिले बजारमा चीयापत्तीको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिकेजी तीन सय देखि चार सयको हाराहारीमा आउने चीयापत्तीको मूल्य अहिले पाँच सय नाघेको छ । सबै चीयापत्ती उत्पादकहरुले मिलेमतोमा मूल्य वृद्धि गरेका छन् ।

दाललगायत गेडागुडीको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिकेजी २० देखि ३० रुपैयाँ सम्म गेडागुडीको मूल्य बढाइएको छ ।

कालोबजारी गरेर प्याजको मूल्य वृद्धि भइसकेको छ । भारतले प्याज निर्यात रोकेको बहानामा तीन महिनाका लागि संचित प्याज रोकेर प्रतिकेजी ६० रुपैयाँसम्म मूल्य वृद्धि गरिएको हो । प्याजको मूल्य प्रतिकेजी एक सय २० छ ।

दैनिक प्रयोग हुने आलु धार्नीकै दुई सय माथि पु¥याइएको छ । हरेक तरकारी महङ्गो बनाइएको छ । गोलभेडा एक सय रुपैयाँ माथि पुगेको छ ।

फलफूलको मूल्य आकाशिएको छ । कोरोना भाइरसको नाममा कालोबजारी गर्नेहरुले किसानलाई भने कौडीको भाउमा सामान विक्री गर्न वाध्य पारेका छन् । आफूले बेच्दा भने उपभोक्ताको ढाड सेकेका छन् । कोरोना कहरमा तेलको भाउ आकाशिएको छ । प्रतिलिटर ३० रुपैयाँसम्मे मूल्य वृद्धि भएको छ । हरेक सामानको मूल्य वृद्धि गरेर मोटो मुनाफा लिनेहरु देखिएका छन् । उनीहरु सरकारी निकायलाई आँखा बन्द गर्न लगाएर सक्रिय भएका छन् ।

सर्वसाधारण महङ्गीको मारमा पर्दा कोरोना कहरले कालोबजारीलाई मात्र दशैं आएको देखिदैछ । उनीहरु सरकारमा रहेकालाई आँखा बन्द गर्न लगाएर महङ्गो मूल्यमा सामान खरिद गर्न वाध्य पारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता