सरकार र डाक्टर गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु
काठमाण्डाै – सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ ।
हिजो सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्यीय टोली गठन गरेको हो ।
यस्तै डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्यीय टोली गठन भएको छ ।
डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ ।
उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।
उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनसन सुरु गर्नुभएको थियो । उहाँलाई पछि काठमाण्डौ ल्याइएको हो ।