Logo

६ दिनदेखि उठेन उपत्यकाको फोहोर



काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयले अवरोध गरेपछि ६ दिनदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

सिसडोलवासीले संघर्ष समिति नै बनाई चैत १३ देखि ककनी गाउँपालिका–१ स्थित ठूलोखोलामा अवरोध गरी फोहोर ल्यान्डफिल साइटमा लैजान दिएका छैनन् । सिसडोलवासीको अवरोधपछि उपत्यकाका सडकमा फोहोरको डंगुर देखिन थालेको छ ।

काठमाडौं महानगरपालिका र सरकारसँग शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा पटक–पटक भएको सहमति पूर्ण रूपमा कार्यन्वयन गर्नुपर्ने माग राखी अवरोध गरिएको गाउँपालिका उपाध्यक्ष सीता लामाले बताइन् । उनका अनुसार बुधबार महानगरसँग छलफल भए पनि निष्कर्ष निस्किएन ।

‘महानगरसँग छलफल भए पनि गैरजिम्मेवार जवाफ पायौं,’ उनले भनिन्, ‘सम्बन्धित मन्त्रालयका मन्त्री तथा निर्णय गर्न सक्ने कर्मचारीलाई संलग्न गराई छलफल गर्नुपर्छ भनेका छौं, त्यसैले हामीलाई भोलि पनि बोलाइएको छ ।’

संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र सबै विद्यार्थीको माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्नेलगायत माग राखेको छ ।

सुरुमा दुई वर्षका लागि भनिए पनि १३ वर्षसम्म निरन्तर फोहोर व्यवस्थापन गर्दा विभिन्न किसिमका समस्या आएको भन्दै स्थानीयले अन्यत्र विकल्प खोज्न भन्दै पटक–पटक अवरोध गर्दै आएका छन् ।

५१ जना शिक्षकको माग गरिएकामा २० जना शिक्षकको दरबन्दी दिने निर्णय गरिसकेको महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । ‘उनीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रका माग राखेका छन्,’ उनले भने, ‘आज सहमति जुटेन, भोलि फेरि छलफल गर्छौं ।’

फोहोर व्यवस्थापन कार्य सबैको साझा समस्या भएकाले यसमा सहयोग गरिदिन सिसडोलवासीसँग आग्रहसमेत गरिएको उनले बताए । हाल साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र नकुहिनेलाई जथाभाबी नफाल्न उनले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता