होलीको अवसरमा जनकपुरधाममा मूर्खहरुको सम्मेलन
होलीको अवसरमा जनकपुरमा मूर्खहरुको सम्मेलन हुने गर्छ । त्यहाँ मूर्खहरु मात्र होइन, महा मूर्ख, पटमुर्ख, हरासंख, डपोरसंख पनि आउने गर्छन् । गत बर्ष प्रदेश दुईका मुख्यमन्त्री नै महा मूर्ख भएका थिए ।
यो २५ बर्षदेखि हरेक बर्ष आयोजना हुने कार्यक्रम हो । यसपटक दुईदिने होरी महोत्सवको दोस्रो दिन आइतबार ‘महामूर्ख सम्मेलन’ हुदैछ । फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद्ले यो कार्यक्रम आयोजना गरेको हो । यो पटक जानकी मन्दिर प्रांगणमा आयोजना हुने सम्मेलनमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुने बताइएको छ ।
यतिखेर मिथिला क्षेत्रमा होली, फगुवा, फागु पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा र जनकपुर अन्तरगृह परिक्रमा सकेर आइतबार बिहान होलिका दहनको धुरा उडाएसँगै आज मिथिलामा होली पर्वको तयारी उत्कर्षमा देखिएको हो ।
मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा रा क्ष सी प्रवृत्तिकी होलिकाको प्रतिमा द ह न गरेर पूर्णिमाका दिन त्यसको धुरा उडाइए पछि भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । मैथिल जनजिब्रोले ‘फगुवा’ पनि भन्ने गरिएको होली पर्व गए राति होलिका द ह न भएर आज धुरा उडाइएसँगै अब भोलि सोमबार मनाउने तयारीमा सिङ्गै मिथिला क्षेत्र लागेको छ ।
एकअर्कालाई विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने मिथिला परम्परा छ । पर्वको तयारी क्रममा मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर बस्तीमा रङ अबिरको खरिद बिक्री बढेसँगै होली गीतका स्वर गुञ्जदै छन् । फागुन पूर्णिमाको भोलिपल्ट रङ अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होलीपर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको छ ।
यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन् । अघि त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी श्रीराम र जनक नन्दिनी किशोरीजी सीताजीले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होलीपर्व शुरु भएको मानिने एउटा मत रहेको छ ।