Logo

भारतबाट ल्याइएको डिजेल ट्यांकर बीच बाटोमै गायब



विराटनगर, चैत ४ । नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन पछिल्लो समय ट्यांकरमैै तस्करी हुने गरेको रहस्य खुलेको छ ।

भारतबाट ल्याइएको डिजेल भरेर भारततर्फ नै लैजान लागेको इन्धन बोक्ने ट्यांकर र दुई व्यक्ति शनिवार विराटनगरमा पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो ।

प्रहरीका अनुसार २ हजार ६५० लिटर डिजेल हालेर भारततर्फ जान लागेको को १ ख ५९१२ नम्बरको ट्यांकरसहित दुई जना पक्राउ परेका हुन् ।

भारतमा नेपालमा भन्दा प्रतिलिटर इन्धन २५ रुपैयाँ महँगो छ । भारतमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य ११६ रुपैयाँ छ । नेपालमा डिजेल ९९ रुपैयाँ प्रतिलिटर छ भने भारतमा १२५ रुपैयाँ प्रतिलिटर रहेको छ ।

‘भारतमा महँगोमा बेच्न चोरी गरी लैजाँदा रहेछन्,’ आयल निगमका एक अधिकारीले भने, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महँगो छ । त्यही भएर तस्करी हुने गरेको छ ।’ शनिवार तस्करी हुन लागेको बेला बरामद भएको इन्धन भारत पुर्‍याउँदा तस्करीमा लागेका गिरोहलाई करीब ६५ हजार रुपैयाँ फाइदा हुने भएको थियो ।

शनिवार इन्धन लिन भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्यांकर जाँच गर्दा २ हजार ६६० लिटर डिजेल बरामद भएको थियो । ट्यांकरको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले मोरङ प्रहरीलाई खबर गरेको थियो ।

भारत अररिया जिल्ला मिरगञ्जका चालक र सहचालक २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले डिजेल तस्करी गरेर भारत लैजाने तयारी गरेको खुलेको मोरङ प्रहरीले बताएको छ ।

भारतको बरौनी डिपोबाट शुक्रवार आयल निगम विराटनगरका लागि २० हजार लिटर पेट्रोल लिएर आएको उक्त ट्यांकरको अटोमेटिक रूपमा गरिएको लक ९चाबी० आयल निगममा खोलिएको थियो । त्यसपछि ट्यांकरले बेलबारीमा रहेको २ ओटा, विराटचौक र सुनसरीको तरहरामा रहेको १–१ ओटा पेट्रोल पम्पमा समान ५र५ हजार लिटरका दरले पेट्रोल अनलोड गरेको थियो । पेट्रोल खन्याएपछि बूढीगंगा गाउँपालिका ४ नेमुवामा रहेको नीतेश आयलमा डिजेल लोड गरेको खुलेको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता