साहसी र हिमतवाली बाइकमा एक्लै देश चहार्ने केटी‘
एउटी केटी लामालामा यात्रामा एक्लै निस्केको देखेर निर्दोष भावले ‘बाफ रे बाफ‘ त्यति टाढाबाट एक्लै‘’ भनेको सुन्दाचाहिँ उनलाई रमाइलै लाग्छ। धेरैले साहसी भनेर प्रशंसा गर्छन्। पहिलो पटक भेटेकाले मिठो आतिथ्य दिएको, सहयोग गरेको घटना कति छन् कति। यात्राकै क्रममा उनले थुप्रै प्रशंसक पनि भेट्छिन्।
‘सकारात्मक रेस्पोन्स यति धेरै पाउँछु कि, त्यसको तुलनामा नकारात्मकता नगन्य भइदिन्छ,’ उनी भन्छिन्। यात्रामा उनलाई भेट्ने उनकै उमेरका केटीको प्रतिक्रियाचाहिँ कस्तो रहन्छ होला तरु ‘धेरैलाई मजस्तै स्वतन्त्र रुपमा हिँड्डुल गर्न पाए हुन्थ्यो भन्ने हुँदोरहेछ,’ सभ्या भन्छिन्, ‘कतिले तपाईंजस्तै बन्न मन छ भन्छन्।’ तर उनको जवाफ हुन्छ, ‘तपाईं मजस्तै होइन, तपाईंजस्तै बन्नुपर्छ। आफ्नो परिचय आफैंं बनाउनुपर्छ।’
समाजले छोरीलाई सधैं सुरक्षा छाताभित्रै राखेर जोगाउने भन्दा पनि बलियो र आँटिलो बनाएर आफैं हिँड्न सक्ने बनाउनुपर्ने उनको सुझाव छ।एक महिनाअघिको झिसमिसेमै पोखराकी सभ्या केसीले आफ्नो ड्युक बाइक पुछपाछ पारिन्, आवश्यक सामान राखेको ब्याकप्याक बोकिन् र एक्लै हुइँकिइन् बिर्तामोडसम्म। एकै दिनमा करिब ७०० किलोमिटर लामो यात्रा गरेकी उनले बिर्तामोडमा साथी भेट्टाइन् र लागिन् इलामतर्फ।
स्नातक अध्ययन गरिरहेकी सभ्यालाई बाइकमा लामो यात्रा गर्न औधी मन पर्छ। नयाँ ठाउँ, नयाँ समाज र संस्कृतिसँग साक्षात्कार गर्दा उनलाई जीवनकै एउटा नयाँ पाटो खुलेझैं लाग्छ। त्यसैले अलिकति फुर्सद पाउनुपर्छ, उनी ब्याकप्याक भिर्छिन् र निस्किन्छिन् नौलो यात्रामा। अरु देशमा कस्तो छ थाहा छैन, तर नेपालमा अलिकति पर पुग्नुपर्छ लवज, भाषा, रहनसहन बेग्लै देखिन्छ,’ सभ्या भन्छिन्, ‘यो नयाँपनले मलाई सधैंं रोमाञ्चित बनाउँछ।’
बाइकमा यात्रा गर्दा बेग्लै अनुभव हुन्छ, जुन बस वा अरु गाडीमा यात्रा गर्दा हुँदैन। उनी भन्छिन्, ‘एक खालको विशेष सुविधा हुन्छ बाइकमा। वरपर हेर्दै हुइँकियो, मन लागेको ठाउँमा रोक्यो।’ उनले आफ्नो यात्राको भिडियो बनाउँछिन् र युट्युबमार्फत सार्वजनिक गर्छिन्। त्यसैले उनी युवामाझ ‘मोटो भ्लगर’ सभ्या राइड्सको नामले चर्चित छन्।