Logo

अपूर्ण रानीपोखरीले दु:ख दिन सक्छ !



काठमाडौं । भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्‍न भई असोज ५ गते उद्घाटन भयो । कोरोना महामारीले प्रभाव पारिरहेको अवस्थामा नेपालीहरु अलिकति भए पनि खुसी भए । मल्लकालीन राजा प्रताप मल्लको शान र काठमाडौंको सौन्दर्य रानीपोखरी ढिलै भए पनि बन्यो ।

व्यस्त सहरबीच लामो समयपछि पानी भरिएको ठूलो पोखरी देख्दा कसको मन नरमाउला र ? तर पोखरीमा पानी आउने र जाने निकास नहुँदा अभियन्ताहरु भने चिन्तित छन् । अपूर्ण बनेको रानीपोखरीले प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपालमा कतै दु:खको बाढी त ल्याउँदैन ? प्रश्‍न उठेको छ ।

प्राचीन समयमा पोखरीमा पानी भर्न राजुकलो र आकाशे पानीको भर हुन्थ्यो । प्राकृतिक क्यानल बनाएर सुन्दरीजल तथा बागद्वारबाट पानी ल्याई काठमाडौंका बासिन्दालाई तत्कालीन शासकहरु खुवाएका थिए । सुन्धारामा बागद्वारको पानी राजकुलोबाटै ल्याइएको थियो । तर आधुनिक समयमा यसका अलवा डिप बोरिङ पनि एक प्रविधि हो, जसबाट जमिनमुनिको पानी झिक्न सकिन्छ । तर रानीपोखरीको हकमा डिप बोरिङ गर्दा वरिपरिको जमिनमा असर पर्ने विज्ञको बुझाइ छ । पोखरी विज्ञ सुशील श्रेष्ठ भन्छन्, “रानीपोखरी भर्न पाँच करोड लिटर पानी चाहिन्छ । त्यति पानी जमिनमुनिबाट तान्यो भने त्यहाँ वरिपरि बस्तीका पानीका मुहान पूरै सुक्छन् । त्यसपछि त्यहाँका बासिन्दाले के गर्ने ?”

रानीपोखरी निर्माणका क्रममा वर्षदिनअघि डिप बोरिङबाट पानी झिक्ने प्रयास भएको थियो । बोरिङबाट प्रतिसेकेन्ड दुई लिटर मात्र पानी आएर असफल भएपछि र चौतर्फी जनदबाबबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यो काम रोकेको थियो । सकेसम्म सजिलो विधि गर्ने सबैले विरोध जनाएपछि मात्र सही अपनाउने भएकाले प्राधिकरणमाथि विश्‍वास गर्न नसकेको अभियन्तासमेत रहेका श्रेष्ठ सुनाउँछन् ।

उद्घाटनका लागि रानीपोखरीमा दुई दिनमै वाग्मती र मेलम्चीको पानी ल्याई भरिएको थियो । ‘‘वाग्मती र मेलम्चीको खानेपानीको पाइप काटेर कहिलेसम्म रानीपोखरी भर्ने ?’’ अर्का अभियन्ता एवं गुथी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य प्रश्‍न गर्छन् ।

२५० वर्षअगाडि राजा प्रताप मल्लले रानीपोखरी बनाउँदा राजकुलोबाट वाग्मती तथा सुन्दरीजलका साथै नेपाल र भारत गरी ५२ वटा तीर्थाटनबाट पानी ल्याई पोखरीमा भरेका थिए । त्यसबेला वर्षाको पानीलाई पनि पोखरीमै सञ्‍चय गर्ने पद्धतिले पोखरी सधैं भरिभराउ रह्‍यो । ०७२ को भूकम्पअगावै पनि रानीपोखरी भरिभराउ थियो । व्यापक बस्ती विकासले राजकुलो मासिएपछि पानीको प्रवाह रोकिए पनि वर्षाको पानीले पोखरी सधैँ भरिभराउ हुने गरेको अमात्य बताउँछन् । उनी वर्षाको पानी जोहो गर्ने अभियन्तासमेत हुन् ।

रानीपोखरी निर्माणका क्रममा विवाद नभएका होइनन् र तिनको समाधान नखोजिएको पनि होइन । प्राधिकरणका सीईओ सुशील ज्ञवालीले पोखरीबारे विस्तृत अध्ययन गर्न जलविज्ञ र भूविज्ञका साथमा अभियन्तालाई पनि राखेर करिब तीन महिनाअघि छलफल गरेका थिए । करिब १० वर्षअघि नै राजकुलो भत्किसकेकाले रानीपोखरी आसपासका हिटि (ढुंगेधारा) हरुमा पानी आउन बन्द भइसकेका थिए । सीईओ ज्ञवाली भन्छन्, “राजकुलो जस्तै पाइपबाटै पानी ल्याई प्राकृतिक तवरबाटै पोखरीमा पानी भरेका छौं । ४७ ठाउँका तीर्थस्थलबाट जल ल्याएको र भारतीय तीर्थस्थलबाट पनि थप जल ल्याउनेछौँ ।”

यसैगरी तन्त्र पूजा गरेर बालगोपालेश्वरको मूर्ति प्रतिस्थापन गरी मूर्त-अमूर्त दुवै संस्कृतिको संरक्षण गर्दै रानीपोखरीको शोभा बढाएको सीईओ ज्ञवाली बताउँछन् । भन्छन्, “वर्षाको पानी पोखरीमा जम्मा गर्ने संरचना बनाएका छौँ । दोस्रो चरणमा पानी सञ्‍चय गर्न थप निर्माण गर्नेछौँ । तैपनि अभियन्ता विरोधकै लागि किन विरोध गरिहेका छन् ?”

रानीपोखरीको जोखिम औँल्याउँदै वर्षामा चौबीस घण्टामा १० मिलिलिटर पानी मात्र पर्‍यो भने पनि पोखरी भरिभराउ भई सडकमै बाढी आउन सक्ने श्रेष्ठ बताउँछन् । त्यसै पनि जमल र तीनधारा क्षेत्रमा १० मिनेट मात्र ठूलो पानी पर्‍यो भने सडकमै पोखरी जम्छ । “पानीको निकासका लागि रानीपोखरीमा कुनै व्यवस्था नहुँदा भविष्यमा समस्या आउँदा प्राधिकरणसँग के उपाय छ ?” श्रेष्ठ सोध्छन् । रानीपोखरीमा पानी निकासाको व्यवस्था नभएको सीईओ ज्ञवाली स्वीकार्छन् । तर, रानीपोखरीको विस्तृत गुरुयोजनाअनुसार कानुन पुस्तकालयदेखि त्रिचन्द्र क्याम्पससहित रत्नपार्कसम्मको क्षेत्रफल पारेको र दोस्रो चरणको कार्यक्रममा पोखरीमा पानीको निकासको व्यवस्था गर्ने उनी सुनाउँछन् ।

अभियन्ता अमात्य त्यसमा शंका गर्छन् । भन्छन्, “यो स्विमिङ पुल होइन, न त सिँचाइँ पोखरी ।” परम्परागत पोखरीमा पानी कहाँबाट आउने र कहाँबाट निकास पठाउने पहिल्यै डिजाइनमा हुनुपर्ने उनको तर्क छ । अमात्यका अनुसार त्रिचन्द्र क्याम्पसबाट पानी रानीपोखरीमा जाने संरचना थियो, त्यो पुरियो । तर मेलम्ची र वाग्मतीको पानी राखिनु दिगो समाधान होइन ।

धारामा पानी दिनुपर्दा मेलम्ची आएको छैन भन्‍ने, तर पोखरी भर्न पानी ल्याउन सक्ने । दुई दिनमै पोखरी भरिने ? कतै खानेपानी संस्थानले बेइमानी पो गरेको हो कि ? अमात्य शंका गर्छन् ।

यस्तै, सुक्‍खा मौसममा पोखरी कसरी भर्ने प्राधिकरणसँग दिगो उपाय छैन । ललितपुरको तीन बहाल पोखरीमा आकाशकै पानी भरेर वर्षदिनसम्म रहन्छ । त्यहाँ प्रयोग भएको पद्धति रानीपोखरीका लागि उपयोगी हुनसक्ने अमात्य सुझाउँछन् ।

दरबार हाईस्कुलबाट वर्षाको पानी रानीपोखरीमा पुर्‍याउने संरचना बनेको छ । यस्तै संरचना बाटोको पानी, जमल तथा तीनधारा पाठशालाबाट रानीपोखरीमा पुग्‍ने बनाउन सकिने श्रेष्ठ बताउँछन् । आफू सहयोग गर्न तत्पर रहेको बताइरहँदा प्राधिकरणले बेवास्ता गरिरहेको उनको गुनासो छ।

श्रेष्ठका अनुसार मल्लकालीन रानीपोखरीमा भुइँ र सतहमा पानी छिर्न र निकासाका लागि संरचना (आउटलेट) बनेका थिए । तलको आउटलेट बन्द हुन्थ्यो भने माथिको सधैँ खुला । सफा गर्ने बेला मात्रै तलको पनि संरचना खुल्थ्यो । तर अहिले आउटलेट नहुँदा रानी पोखरी डम्पिङ साइट बन्‍न सक्ने खतरा छ । यही अवस्थामा रहे एक दशकपछि माटो भर्दै गएर पोखरीको भुइँ नै माथि आउन सक्छ । त्यसैले पोखरी सफा गर्न संरचनाको व्यवस्था हुनुपर्ने श्रेष्ठको सुझाव छ । नेवार समुदायमा सिथि नख:का दिन वर्षमा एकपटक इनार, पोखरी र हिटि सफा चलन छ । रानीपोखरीजस्ता ठूला पोखरी तीन वर्षमा भए पनि एकपटक सफा गर्नुपर्छ । उनका अनुसार आठ कुनामा आठवटा धारा राखेर वर्षाको पानीलाई प्राकृतिक रुपमै ल्याउन सकिन्थ्यो । अपूर्ण रानीपोखरीले दु:ख दिन सक्छ ।

प्राचिन इन्‍जिनियरिङको सिद्धान्तअनुसार पोखरीको पानी जति वाष्पीकरण भयो उति नै जमिनमुनि सञ्‍चीकरण पनि हुनुपर्छ । यसका लागि जमिनमुनि खरानी र कालो रड मिश्रित २ इन्चदेखि ४ इन्चसम्म बनेको गिइँचा माटो राखिने गरिन्थ्यो । यस्तै, पोखरीको साइडमा खैरो रङको गथँचा माटोले ढलान गरिन्थ्यो । गथँचा सिमेन्टभन्दा बढी उपयोगी हुन्छ । यसले पानी रोक्ने र रिचार्ज दुवैको काम गर्छ ।

लभ पार्क बन्‍न नहुने
रानीपोखरी मन्दिरभित्र भगवान् शिव र बालगोपालेश्वरको मूर्ति मात्र होइन, ६ शिर भएका गणेश विराजमान छन् । त्यस्तै, नेपालकै सम्भवतः एकमात्र लक्ष्मी र पार्वतीको संयुक्त मूर्ति छ । राजा प्रताप मल्लले पुत्र शोकमा विह्‍वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन रानीपोखरी बनाएका थिए । भाइटीकाका दिनमा रानीपोखरीमा दाजुभाइ तथा दिदी-बहिनी नहुनेहरु बालगोपालेश्वरलाई दर्शन भेट गर्न आउँछन् । तन्त्रविधिबाट पूजा गरिनु यसको अर्को विशेषता हो । यस्तो ऐतिहासिक महत्त्व बोकेको धरोहर सबैले सधैँ हेर्न पाउनु पर्नेबारे मतमतान्तर सुरु भएको छ । तर रानीपोखरी मन्दिरको हेरचाह गर्ने देउपाला रमेश कपाली पुनर्निर्माण भएको रानीपोखरी मन्दिरको महत्त्व दर्शाउन वर्षको एकपटक खुलेको नै राम्रो मान्छन् ।

मूल पुजारी हृदयप्रसाद मिश्र रानीपोखरी खुला गर्दा केही सर्त पालना भए मात्र ठीक हुने विचार राख्छन् । पोखरीको सौन्दर्य र शीतलता अनुभव गर्न आए त ठीक तर लभ पार्क बन्यो भने विकृति बढ्ने उनको तर्क छ । त्यसबेला मानिस थोरै भए पनि वर्षमा एकपटक खुलेकाले यसको महत्त्व बढेको बताउँदै सधैँ खुलेपछि त्यो महत्त्व कायम हुनेमा भने उनी शंका व्यक्त गर्छन् ।

श्रेष्ठ भने इन्‍जिनियरिङका विद्यार्थीलाई प्राचीन इन्जिनियरिङ बुझ्‍न भए पनि रानीपोखरी खुला गर्नुपर्ने ठान्छन् । पोखरी हेर्न र अवलोकन गर्न खुला गर्न सकिने तर मन्दिर पस्‍न भने दिई हाल्न नसकिने सीईओ ज्ञवाली बताउँछन् । यसका लागि सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने उनको राय छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता