सपथ ग्रहण समाहरोहमा भएको झडपमा घाइते भएका नेकपाका गाउँपालिका सचिवको मृत्यु, तीन पक्राउ

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।
बिहीबार अपराह्न १ बजे भएको दुईपक्षीय झडपमा गम्भीर घाइते बनेका गाउँपालिका सचिव चौरसियाको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
उनको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।
गम्भीर घाइते चौरसियाको टाउकोमा गम्भीर चोट भएकाले मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार अपराह्न १ बजे भएको दुवै पक्षका मृत्यु भएकासहित आठजना घाइते भएका थिए ।
झडपमा सक्रिय एक पक्षका दुईजना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार हुँदै छ भने अर्का पक्षका घाइतेहरूको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
किन भयो झडप ?
नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका केही सातायता अलगअलग शपथग्रहण कार्यक्रम हुँदै आएको छ ।
त्यहीअनुसार एक पक्षले विन्दवासनी गाउँपालिका– ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथग्रहण आयोजना गरेको थियो भने अर्काे गुटका कार्यकर्ताले कार्यक्रममा सहभागी हुन नपाउँदा असन्तुष्टि जनाउँदै विरोध गरेपछि झडप भएको थियो ।
कार्यक्रमस्थलमा विवाद भएपछि दुवै पक्षबाट लाठी हानाहान भएको थियो । दुवै पक्षबाट मृतकसहित आठजना घाइते भएका छन् ।
जसमध्ये सामान्य उपचार गराएर तीनजना डिस्चार्ज भएका छन् ।
नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन् ।
झडपमा सहभागी प्रहरी नियन्त्रणमा
शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।
उनले पार्टीगत विवादमा सहभागी भएर झडप गरेकालाई नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार जिल्लाको पार्टीगत विवादमा सहभागी भएकाे र ठूलो झडप भएकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको हाे ।
जिल्लाका विभिन्न कार्यक्रमबारे प्रहरीलाई पूर्वजानकारी नगराइएकाले शपथग्रहण कार्यक्रममा प्रहरी नपुगेको बताए ।
नेकपा पर्साका अध्यक्ष प्रभु हजराले पर्सामा ठूलो विवादको रूपमा देखिएको यो घटना दुःखदायी रहेको बताए ।