उपत्यकाबाट ६ दिनमा १ लाख ४३ हजार मात्र बाहिरिए

काठमाडौँ — उपत्यकाबाट ६ दिनमा १ लाख ४२ हजार ७ सय ६९ यात्रु बाहिरिएका छन् । घटस्थापनायता बाहिरिनेको संख्या दैनिक बढ्दो छ । तर गत वर्षको तुलनामा दसैंमा बाहिरिने यो संख्या भने धेरै कम हो ।
काठमाडौंको कोटेश्वरमा बिहीबार दसैंका लागि घर फर्कंदै गरेका यात्रु । तस्बिर : हेमन्त श्रेष्ठ
कोभिड–१९ का कारण लकडाउन भई विद्यालय, क्याम्पसलगायत बन्द भएसँगै १२ लाखभन्दा बढी यात्रु पहिला नै बाहिरिसकेका छन् । लकडाउन खुलेपछि उपत्यका छाड्नेको संख्या झन् बढेको हो ।
कात्तिक १ गते घटस्थापनाका दिन ४ हजार २ सय २१ सवारी र २१ हजार ४ सय ७८ जना यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यही दिन ४ हजार ४ सय ४ सवारीसँगै १६ हजार ६ सय ४९ यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ । बिहीबार साँझसम्म २६ हजार ५ सय ४६ जना यात्रु बाहिरिएका छन् ।
असोज १ गते सरकारले लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिएसँगै १ लाख ६० हजार ७ सय ४५ सवारीसँगै ६ लाख २८ हजार ७६ जना यात्रु भित्रिएका छन् । १ लाख ६१ हजार ५ सय ३६ सवारी र ७ लाख २१ हजार ८ सय ४५ सय यात्रु बाहिरिएका छन् । दसैंका बेला अघिपछि भीड हुने बसपार्क, टिकट काउन्टर भने यो वर्ष सुनसान बने । यात्रु नहुँदा व्यवसायीले खाली सवारी सञ्चालन गर्दै आएका छन् । गत वर्षजस्तो यो पटक उपत्यकाबाट बाहिरिने सवारी चाप कम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘कोभिड–१९ को जोखिम दैनिक बढ्दो छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।’ स्वास्थ्य सुरक्षाअनुसार सवारी नचलाउनेलाई नियमअनुसार कारबाही गर्ने गरेको उनले बताए ।
गत वर्ष फूलपातीको अघिल्लो दिन आठ सय यात्रु बस बाहिरिने गरेको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरको भनाइ छ । यस पटक भने दुई सय हाराहारीमा बस बाहिरिएका छन् । अहिले यात्रु नभएर फुर्सदिलो जस्तो भएर बस्नुपरेको उनले बताए । उनका अनुसार एउटा बसमा २० भन्दा बढी यात्रु छैनन् । गत वर्षसम्म फूलपातीका दिन मारामार यात्रु हुन्थे । यो पटक फूलपातीका दिनलाई बुकिङ नै छैन । ‘कोभिडले गर्दा दसैंको खासै रौनक छैन,’ उनले भने, ‘यात्रु नै नभएर अहिलेसम्म यसरी बस खालीखाली पठाउनुपरेको थिएन ।’ कोभिड–१९ को संक्रमणले सबैभन्दा ठूलो आर्थिक क्षति यातायात क्षेत्रमा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘अहिलेसम्म यसरी चाडवाडमा गाडी खालीखाली गुडाउनुपर्ने अवस्था आएको थिएन,’ उनले भने, ‘त्यसैले सबैभन्दा ठूलो मार यातायात व्यवसायीले खेप्नुपरेको छ ।’ गत वर्षसम्म फूलपातीको अघिल्लो दिन करिब साढे २ लाख यात्रु बाहिरिन्थे । अहिले गाडी भए पनि यात्रु नभएको उनले गुनासो गरे । ‘बल्लतल्ल करिब ४० प्रतिशत सवारी सञ्चालनमा छन्,’ उनले भने, ‘तिनमा पनि यात्रु छैनन् ।’