Logo

बिनास्वीकृति ललितपुरमा साइकल लेन



ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण शुरू गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

 

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गरे।

सडक विभागले भने महानगरपालिकाले आफूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ ।

 

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताए । उनले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।

‘‘काठमाडौँ र ललितपुर जोड्ने थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार क्षेत्रको सडक फराकिलो बनाउने सम्भावना छैन’’, उपमहानिर्देशक सापकोटाले थपे, ‘‘साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन ।’’

अहिलेकै सवारीसाधनको चापलाई थेग्न नसकेको सो सडकखण्डमा झन् साइकल लेन बनाउँदा बढ्न सक्ने जोखिम र दुर्घटनाको दायित्व समेत सडक विभागलाई नै हुने भएकाले यस सम्बन्धमा विभागले थप अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्न सक्ने उनले स्पष्ट पारे।

महानगरले भने सहरलाई अझ व्यवस्थित बनाउन साइकल लेन बनाएको दाबी गरेको छ । ‘स्वच्छ र सफा महानगर’ कार्यक्रम अन्तर्गत महानगरको विभिन्न रुटमा साइकल लेन निर्माण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै महानगर प्रमुख महर्जनले वातावरण र नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यो कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउनमा सम्बन्धित सबै निकायको सहयोग आवश्यक रहेको बताए ।

नमूना परियोजनाका रूपमा पहिलो चरणमा थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल लेन निर्माण गरिएको बताउँदै नगरप्रमुख महर्जनले दोस्रो चरणमा महानगरको २२ किलोमिटर भित्री सडकमा साइकल लेन निर्माण गर्ने योजना रहेको जानकारी दिए। गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता