Logo

तीन दिनमै सकिए सहुलियत मूल्यका खसीबोका



काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत सोमबारबाट सहुलियत मूल्यमा बिक्री वितरण शुरु गरेका खसीबोका तीन दिनमा नै सकिएका छन्। बुधबारसम्ममा सबै खसीबोका सकिएको कम्पनीले जानकारी दिएको हो।

 

 

 

सबै खसीबोका सकिएपछि थप १ हजार खसीबोका खरिद गरेर कम्पनीले काठमाडौं ल्याउने तयारी गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीका अनुसार कम्पनीले दाङलगायत पश्चिम तराईका विभिन्न जिल्लाबाट खसीबोका किन्न लागिएको हो।

‘खाद्यले बुधबारसम्ममा सबै खसीबोका बिक्री वितरणका लागि टोकन बाँढिसकेको छ। सरकारी कम्पनीले नै सस्तोमा बेचेपछि बजारमा मासुको मूल्यमा पनि नियन्त्रण आउँछ। त्यसकारण थप १ हजार खसीबोका ल्याउन लागेका हौं,’ उनले भने।

 

खाद्य व्यवस्था कम्पनीले जिउँदो खसी प्रतिकिलो ५ सय ५० रुपैयाँ पर्ने गरी मूल्य तोकेको छ। यो औसत बजार मूल्य भन्दा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्म सस्तो हो।

खसीबोकाको औसत खरिद मूल्य, ढुवानी तथा दानामा लाग्ने लागत समेत गरेर प्रतिकिलो ५ सय ६० रुपैयाँ पर्न जाने कम्पनीको भनाइ छ। तर यसरी तय गरिएको मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने निर्णय कम्पनीले यसअघि नै गरिसकेकाले बिक्री मूल्य ५ सय ५० रुपैयाँ तोकिएको हो।

 

 

 

कम्पनीले यसअघि हेटौंडा र तुलसीपुरबाट खसीबोका खरिद गरेर थापाथलीस्थित गोदाम कार्यालयबाट बिक्री वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता