वैशाख ११ बाट मेलम्चीको पानी काठमाडौँको धारामा
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताएका छन् । उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिएका हुन् ।
शाक्यले काठमाडौँ उपत्यकाको ४३ लाख जनसङ्ख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए । आगामी आइतबारदेखि केयुकेएलले महाङ्काल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगन्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुन्जे रिजर्भवेर टैंकबाट पानी वितरण हुने भएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० वटै पानी रिजर्भ टैंकीबाट समानुपातिक ढङ्गले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले भने, ‘आगामी वैशाख ११ गते काठमाडौँ उपत्यकाका नागरिकका घरको धारामा पानी आउनु पर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन । पानी वितरणको लागि धेरै वटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।’