गुराँस लाइफ इन्स्योरेन्सको दशौं वार्षिक साधारणसभा मंसिर ४ मा

काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०औं वार्षिक साधारणसभा मंसिर ४ गते गर्ने भएको छ। राजधानीको तिनकुनेस्थित आफ्नै प्रधान कार्यालयमा मिति तोकेर कम्पनीले सेयरधनीहरुलाई बोलाएको हो। सभाले आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस पारित गर्नेछ। कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरे पनि लाभांश रकम भने सूचनामा खुलाएको छैन। कम्पनीले यसअघि चुक्ता पुँजी ९३ करोड ८५ लाखको आधारमा १०.५० प्रतिशत बोनस घोषणा गरेको थियो।
कम्पनीले शतप्रतिशत १ः१ अनुपातको हकप्रद बिक्री गरी नेप्सेमा सूचीकरण हुँदा चुक्ता पुँजी १ अर्ब ८७ करोड कायम भएकाले हकप्रदलाई समायोजन गरी बोनस सेयर वितरण गर्दा दर घटेर ५.२५ प्रतिशत हुन आएको कम्पनीले जनाएको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार ६ सय रुपैयाँ पुग्नेछ।
उक्त बोनस सेयर साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्। सभामा ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले साधारणसभाका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। कात्तिक १९ गतेसम्म सेयर कायम भएका सेयरधनीहरुले कम्पनीले दिने लाभांश पाउन सक्नेछन् भने सभामा भाग लिन समेत पाउनेछन् ।