Logo

दसैं बिदामा जिल्ला नछोड्न सीडीओ र प्रहरी प्रमुखलाई गृहको निर्देशन



गृह मन्त्रालयले दसैं बिदामा जिल्ला नछोड्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार नै यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

गृहले चाडपर्वको समयमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका लागि चाडपर्वमा चुनौती थपिने देखिएपछि मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको प्रवक्ता बुढाको भनाइ छ ।

मन्त्रालयले दसैं, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्ने भन्दै जोखिम क्षेत्रको पहिचान र सचेतताका लागि सबैलाई भनेको छ।

‘चाडपर्वमा मानिसको आवतजावत हुने हुँदा जोखिमको खतरा अझ हुनसक्छ’, प्रवक्ता बुढाले भने, ‘त्यसैले मन्त्रालयले दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।’

जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपाय अवलम्बन गर्न र गराउन गृहको निर्देशनमा भनिएको छ ।

मन्त्रालयले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

मन्त्रालयले आम सर्वसाधारणलाई चाडपर्वको समयमा समेत अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन भनेको छ । यो अवधिमा घुमफिर, भेला, जमघट तथा भोजभतेर नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यो वर्षको दसैं जो जहाँ छौँ त्यहीँ बसेर मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न आग्रह गरिएको छ ।

सरकारले चाडपर्वको अवसरमा सुरक्षाको रणनीतिसमेत तयार पारेको छ । चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी, कृत्रिम अभाव, कालोबजारीलगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन नदिने गरी सुरुक्षा व्यवस्था मिलाउन गृहले मातहतका नियकालाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता