२२ हजारलाई एकै पटक रोजगारी दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्यो !
काठमाडौं । २२ हजार २ सय जनालाई सीप सिकाएर रोजगारी दिने कार्यक्रमसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। चालू आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्याएको यो कार्यक्रम कार्यान्वयनको लागि कार्यविधि मन्त्रिपरिषद्को बैठकमा लगिएको हो।
मन्त्रिपरिषद्ले यसलाई स्वीकार गरे चालू आर्थिक वर्षभित्र २२ हजार २ युवाहरुले रोजगारी पाउनेछन्। उद्योग मन्त्रालयले चालू आर्थिक वर्षमा कार्यस्थलमा नै सीप सिकाएर रोजगारी प्रदान गर्ने नीति तथा कार्यक्रम निर्माण गरेको थियो। यसअनुसार चालू आवमा बजेट समेत विनियोजन भएको छ।
यो कार्यक्रम कार्यान्वयनका लागि ८० करोड रुपैयाँ विनियोजन भएको उद्योग सचिव अर्जुन पोखरेलले बताए। उनले भने, ‘कार्यक्रमलाई उत्पादनमूलक उद्योगहरुसँग सहकार्य गरेर अघि बढाउने योजना छ। त्यहीअनुसारको कार्यविधि समेत निर्माण भएको छ।’
चालू आर्थिक वर्षमा ८० करोड रुपैयाँ बजेट विनियोजन नै भएपछि उद्योग मन्त्रालय कार्यविधि बनाउनतिर लागेको थियो। कार्यविधिले सुरुमा यस्तो कार्यक्रममा आउन चाहने युवाहरुको र त्यस्तो तालिम दिन खोज्ने उद्यमीको खोजी हुने उल्लेख गरेको छ। सूचनामा नै तालिम २ वर्षको हुने उल्लेख गरिनेछ।
२ वर्षसम्म न्यूनतम ज्यालामा उद्यमीले काम लगाउनुपर्नेछ। त्यसमा सरकारले निश्चित समयको लागि अनुदान प्रदान गर्नेछ। २ वर्ष अवधि पूरा भएपछि उत्कृष्टहरुलाई उद्योगीहरुले स्थायी कामदारको रुपमा लिन सक्नेछन्। उद्योग मन्त्रालयका अनुसार यस्तो कार्यक्रमको माग धेरै अघिदेखि उद्योगीहरुले नै गर्दै आएका थिए। सोहीअनुसार र युवाहरुलाई रोजगारी समेत दिने हेतुले यस्तो कार्यक्रम कार्यान्वयनमा लान सरकार अघि बढेको हो।
जनार्दन शर्मा अर्थमन्त्री भएपछि ल्याएको बजेट प्रतिस्थापन विधेयकमा यसलाई ८० करोड रुपैयाँमा झारिएको हो। दुई वर्षको कार्यक्रम भएकोले यति बजेट अपुग हुने देखिएको र कार्यक्रमको अवधि नै लामो भएको कारण अर्को आर्थिक वर्षमा समेत बजेट माग गर्न सकिने आकलन उद्योग मन्त्रालयको छ।