Logo

६ महिनामा विपद्का घटनाबाट १ हजार १८३ जनाको मृत्यु, ८१ करोडभन्दा बढीको क्षति



काठमाडौं। पछिल्लो ६ महिनामा विपद्का घटनाका कारण नेपालमा १ हजार १८३ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरस, आगलागी, चट्याङ, सर्पदंश, जनावरको आक्रमण, बाढी र पहिरो जस्ता विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस महामारीका कारण ७३९ जनाको मृत्यु भइसकेको छ भने आगलागी, चट्याङ, सर्पदंश, जनावरको आक्रमण, बाढी र पहिरोका घटनामा परी ४४४ जनाको मृत्यु भएको छ।

 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गते देखि कात्तिक २ गतेसम्मको अवधिमा आगलागी, चट्याङ, सर्पदंश, जनावरको आक्रमण, बाढी र पहिरोका घटनाबाट मात्र राज्यले ८१ करोड ८७ लाख ३ हजार ६१० रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको छ।

यस वर्ष विपद्का घटनामा परी १०१ जना बेपत्ता भएका छन्। विपद्का घटनामा परी पछिल्लो ६ महिनामा ७३९ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। विपद्का घटनामा परी उक्त अवधिमा १ हजार ७५५ चौपाय मरेका थिए।

बितेका ६ महिनामा सबैभन्दा बढीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ। विश्वमा पहिलो पटक चीनको वुहानमा २०७६ पुसको दोस्रो साता कोरोना भाइरस देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१४ देश तथा क्षेत्रमा फैलिसकेको छ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित २०७६ माघ ९ गते देखिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसयता नेपालमा भित्र यो भाइरस १ लाख ३२ हजार २४६ जनामा देखिसकेको छ।

नेपालमा कोरोनाका कारण २०७७ जेठ ३ गते पहिलो व्यक्तिको मृत्यु भएको थियो। त्यसयता हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ।

कोराना पछि सबैभन्दा बढीको मृत्यु पहिरोका कारण भएको छ। बितेका ६ महिनामा पहिरोका घटनामा परी २९५ जनाको मृत्यु भएको छ। पछिल्लो दशकमा यस वर्ष पहिरोमा परी सबैभन्दा बढीको मृत्यु भएको छ।

 

यस वर्ष पहिरोमा परी ६४ जना वेपत्ता भएका छन् भने २२३ जना घाईते भएका थिए। पहिरोका कारण ५ करोड ९ लाख ६४ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको अनुमान छ।

यस वर्ष चट्याङ लागेर ६५ जनाको मृतयु भएको छ भने २१३ जना घाइते भएका छन्। चट्याङ्ले यो वर्ष ५९ लाख ४२ हजर ५०० रुपैयाँ बराबरको क्षति गरेको छ। बाढीका घटनामा परी पछिल्लो ६ महिनामा ४२ जनाको मृत्यु भएको छ भने ३७ जना अझै वेपत्ता रहेका छन्। बाढीले ४ करोड ८८ लाख ११ हजार रुपैयाँ बराबरको क्षति गरेको छ।

२०७७ वैशाख १ गते यता सर्पले टोक्दा २१ जनाको मृत्यु र ३६ जना घाईते भएका छन्। जंगली जनावरको आक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते। यस वर्ष आगलागीबाट १० जनाको मृत्यु भएको छ।

आगलागीका घटनामा परी १४४ जना घाइते भएका छन्। आगलागीका घटनाले ६० करोड ९६ लाख ७८ हजार ९६० रुपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता