Logo

बेपत्ता नेपाली खोज्न ड्रोन उडाउन नदिने भारतले बिना अनुमति निरन्तर हेलिकप्टर नेपाली आकाशमा  ?



 

काठमाडौं । एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ ।

भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ भने नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको कान्तिपुर दैनिकमा समाचार छ । तर न भारतले अनधिकृत उडान रोकेको छ न नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छ । महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो ।

साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।

भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, स शस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो । लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो । सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो । परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ । केही दिनको अन्तरालपछि भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर लगातार बजार र सेनाको ब्यारेकमाथि फेरि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

जुनसुकै प्रयोजनका लागि उडाइएको भए पनि त्यसमा नेपालको अनुमति आवश्यक पर्ने सुरक्षा समितिको ठहर छ । भोलिपल्ट बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्कालै रोक्न भनेको छ । हेलिकोप्टर उडाउन आफ्नै आकाश प्रयोग गर्न पनि नेपाली प्रशासनले भारतीय पक्षलाई आग्रह गरेको छ । ‘भारतको गैरसैनिक हेलिकोप्टर निरन्तर रूपमा नेपाल र भारतबीच कुनै समन्वय नगरी गुरु गोरख गुल्म हेडक्वार्टर तैनाथ रहेको स्थान खलंगा ब्यारेक तथा दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रको नेपाली आकाश प्रयोग गरी उडान गरिरहेको व्यहोरा अवगत गराइन्छ’ पत्रमा भनिएको छ ।

दार्चुला प्रशासनले बाढी प्रभावित इलाकामा खाद्यान्न ढुवानी गर्न नेपालको पनि हेलिकोप्टर परिचालन गरिएकाले भारतीय हेलिकोप्टर बिनाअनुमति नेपालतर्फ आउँदा दुर्घटनाको जोखिम रहेको भन्दै सतर्क गराएको छ । ‘नेपालको बाढी प्रभावित दुहुँ गाउँपालिका क्षेत्रमा नेपाली हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्नुपर्ने भएकाले दुवै देशबीच समन्वय नभई यसरी उडान भर्दा दुर्घटनासमेत हुन सक्ने अवस्थालाई मध्यनजर गरी नेपाली आकाश प्रयोग नगर्नसमेत अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ ।

यसअघि महाकालीपारि भारतीय भूमिबाटै तटीय क्षेत्रमा उडान हुने गरेको तर पछिल्लो केही दिनयता नेपालतर्फबाट हेलिकोप्टर उडाउन थालिएकामा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी पनि आश्चर्यचकित छन् । प्रतिकूल मौसमका कारण आकस्मिक रूपमा हेलिकोप्टर नेपाली आकाशमा प्रवेश गरेको थियो भने ‘सामान्य नोटिसमा राखेर’ हेर्ने अवस्था रहेको तर पछिल्ला दिनमा सन्देहात्मक उडान भइरहेकाले आफूले गम्भीर रूपमा लिएको पनि प्रजिअ जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता