आफ्नै शरीरमा आगो लगाएर महिलाले दिइन् ज्यान

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर ज्यान दिएकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर ज्यान दिएकी हुन् ।
घरबाट करिब ! किलोमिटर टाढा रहेको टोड्के सामुदायीक वनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ती महिलाले डिजेल शरीरमा खन्याएर आगो लगाएर ज्यान दिएको खुलेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
महिलाले ज्यान दिएको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकका दुई छोरी रहेका छन् ।