Logo

कुखुरा चोर्न खोजेको भन्दै दाङमा एक किशोरको कुटिकुटी हत्या



घोराही । कुखुरा चोरी गर्न गएको आरोपमा दाङको देउखुरीमा एक जना किशोरको कुटिकुटी हत्या गरिएको छ ।

राप्ती गाउँपालिका–३ नयाँ बस्तीमा बिहीबार बेलुकी ८ बजेतिर स्थानीय १८ वर्षीय नरेश चौधरीमाथि कुटपिट भएको थियो ।

उनीमाथि छिमेकीको घरमा कुखुरा चोर्न गएको आरोप लगाइएको थियो ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) भुवन भट्टका अनुसार छिमेकीहरु ६० वर्षीय खलबहादुर घर्ती र उनका छोरा २५ वर्षीय ओमप्रकाश घर्तीले चौधरीमाथि कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार खलबहादुर घर्तीले आफूले टेक्ने लठ्ठीले चौधरीको टाउकोमा प्रहार गरेका थिए । खलबहादुरले लठ्ठीले प्रहार गर्दा चोट लाग्दा अत्यधिक रक्तश्राव भएको थियो ।

उच्च रक्तश्रावकै कारण चौधरीको मृत्यु भएको देखिएको इन्सपेक्टर भट्टले जानकारी दिए ।

कुखुरा चोरीको आरोपमा नरेशमाथि कुटपिट भएपछि उनकी आमाले बचाएकी थिइन् । आमाले नरेशलाई घरमै लगेर राखेकी थिइन् ।

घरमै बेहोस अवस्थामा ढलेका उनको बिहान ५ बजेतिर मृत्यु भएको खबर प्राप्त भएको इन्सपेक्टर भट्टले जानकारी दिए ।

नरेशमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय खलबहादुर घर्ती र उनका छोरा २५ वर्षीय ओमप्रकाश घर्तीलाई नियन्त्रणमा लिएको छ ।

मृतक चौधरीको शव भने पोस्टमार्टमका लागि लमही अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता