राउटे बस्तीमा तीन जनाको मृत्यु

काठमाडौ । फिरन्ते जीवन विताउने राउटेको जनसंख्या घट्दो क्रममा छ । लोपोन्मुख जाती राउटे कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउछन् । राउटे बस्तीका तीन जनाको मृत्यु भएसंगै फेरी राउटेको संख्या घटेको हो । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । लोपोन्मुख जाती राउटेको संरक्षणका लागि विभिन्न संघसंस्थाले काम गरिरहेका छन् ।
एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिएका छन् । यस अघि एक बालिकाको निधन भएको थियो ।
बालिकाको निधन पछि उनीहरुले आफुहरु बस्दै आएको बस्ती छोडेका थिए । राउटे समुदायले बसेको स्थानमा कसैको निधन भए ठाउँ सर्ने गर्छन । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियो ।
यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे ।