Logo

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइयो, उपाध्यक्ष पनि घटे



 

काठमाडौ । नेकपा एमालेमा अब पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य पद नहुने भएको छ । उपाध्यक्ष पद पनि घटाइने भएको छ । एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गर्दै यस्तो ब्यवस्था राखिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमवार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

पार्टीले उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यालय सचिव शेरबहादुर तामाङले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताए ।

उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । कार्यालय सचिव तामाङले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए ।

यसैगरी केन्द्रीय कमिटी सदस्यको संख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उनले जानकारी दिए । पार्टीमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख््या बढाउने पारित विधानमा उल्लेख छ ।

एमालेको केन्द्रीय कमिटी बैठक अहिले ३ बजे सोही प्रतिष्ठानमा राखिएको छ । स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको कार्यालय सचिव तामाङले जानकारी दिए । उनले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता