स्वास्थ्य राज्यमन्त्रीको लगानी रहेको अस्पतालले पनि बुझाएन कर ? महानगरपालिकाले सार्वजनिक गर्यो सूचना

काठमाडौ । कर नबुझाउनेमा स्वास्थ्य राज्यमन्त्रीको लगानी रहेको अस्पताल पनि परेको सूचना काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको घरजग्गा र सम्पत्ति कर नबुझाउनेहरुको लिष्टमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताल पनि देखिएको छ ।
महानगरपालिकाले कर बुझाउन भन्दै सार्वजनिक गरेको ५२ करदाताको लिष्टमा जनमैत्री अस्पताको नाम पनि छ । महानगरले ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको हो । राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम समेत लिष्टमा देखिएको छ ।
जसमा केही सरकारी कार्यालयको नाम लिष्टमा देख्न सकिन्छ । महानगरले एक महिना भित्र कर तिर्न आग्रह सहित नाम सार्वजनिक गरेको हो । जसमा नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी संचयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानहरु छन् ।
नाम सार्वजनिक गरेका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने समेत जनाइएको छ ।
सुमार्गीले बानेश्वरस्थित घरजग्गाको कर बुझाएका छैनन्। त्यस्तै, शिशु अर्यालको नाममा रहेको लाजिम्पाटस्थित घरजग्गाको पनि कर तिरिएको छैन।
यो घरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लामो समय बसेका थिए। शिशु अर्याल व्यवसायी सुमार्गीकी श्रीमती सम्झना अर्याल(अस्मिता सुमार्गी) की ठूलोबुबाकी छोरी हुन्। करीब एक दशकअघि नवलकिशोर अग्रवालबाट शिशु अर्यालको नाममा यो घर किनिएको थियो।