Logo

तस्करको कुटाइबाट दुई प्रहरी घाइते



राजविराज : भारतबाट नेपालतर्फ तस्करी हुँदै गरेको अवैध समानसहित तस्करलाई नियन्त्रणमा लिन पुगेका प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। प्रहरी र तस्करलगायत स्थानीयबीच दोहोरो झडप हुँदा चार राउण्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

राजविराज नगरपालिका–१३ मुसहर्निया स्थित नहरमा तस्कर र नेपाल प्रहरीबीच गएराति झडप हुँदा तस्करको कुटाइबाट प्रहरी हवल्दार ३६ वर्षीय कमलदेव यादव र प्रहरी जवान २७ वर्षीय दिपेन्द्र साह घाइते भएका छन्। अवैध समान ओसारपसार भइरहेको सूचनाका आधारमा मुसहर्निया पुगेका सादा पोशाकका प्रहरीले तस्करहरुले ल्याएको बोरा बरामद गर्न खोज्दा तस्कर र प्रहरीबीच झडप भएको घाइते साहले बताए।

 

घाइते साहका अनुसार हावा खान खेतमा बसेको भनी ठानिएका व्यक्तिहरु तस्करले हल्ला गर्ना साथ एकजुट भएर घेरा हाली आक्रमण गर्न आए। खेतमा बसेका १०-१५ जनाले समान बरामद गर्न नदिएपछि झडप भएको र उनीहरुको सहयोगमा घरेलु हतियारसहित आएका थप २०–२५ जना स्थानीयवासीले धारिलो हतियारले आक्रमण गरेको उनले बताए।

घाइतेहरुका अनुसार झडपपछि तस्करहरुले प्रहरी हवल्दार यादवको साढे आठ हजार र साहको मोबाइल समेत लुटेका छन्। तस्करहरुले खोसेको हतियार भने घटनास्थलमै फेला परेको छ। खुकुरीले काटेर प्रहरी साहको टाउकोबाट रगत बग्न थालेपछि हवाइ फायर गर्नुपरेको प्रहरी हजल्दार यादवले बताए।
तस्करहरुको कुटाइबाट घाइते भएका प्रहरीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। साहको टाउकोमा सात वटा टाँका लागेको छ। उनको टाउकोको सिटी स्क्यान गरिएको छ। आक्रमणकारी तस्करहरु कोही पक्राउ नपरेको र समान पनि बरामद हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्नहरुको पहिचान गरी खोजी कार्य तीव्र पारिएको एसपी धमलाले बताए।

दशैंलगायतका चाडपर्व नजिकिएपछि तस्करहरुले भारतबाट नेपालतर्फ दैनिक उपभोग्यलगायतका विभिन्न समान ओसार्ने तथा मदिरा, मरिच, मटरलगायतका समान भारत लैजाने गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता