युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानबिन
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता ९एसएसपी० वसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन हुँदै छ ।’
साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवान देखी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रहरी प्रधान कार्यालयको युएन शाखाले परीक्षाको संयोजन गरेको थियो । प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको प्रहरी प्रवक्ता कुँवरले बताएका छन् ।
प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जुन शाखाका कर्मचारीले प्रश्नपत्र बनाएर परीक्षा लिए सोही शाखालाई छानबिनको जिम्मा दिएका छन् । ‘स्वच्छ छानबिन हुनेमा शङ्का लागेको छ’ परीक्षामा सहभागी एक जना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘युएन शाखाबाट प्रश्नपत्र बाहिरिएको थियो सोही शाखालाई छानबिनको जिम्मा दिँदा कसरी निष्पक्षता हुन्छ रु’