दार्चुला घटनाको विषयमा भारतीय दुतावास अगाडी प्रदर्शन
काठमाडौ । दार्चुला घटनालाई लिएर काठमाडौ स्थित भारतीय दुतावास अगाडी प्रदर्शन गरिएको छ । दार्चुलामा महाकाली नदी माथीको तुईन भारतीय सुरक्षाबल एसएसवीले काटिदिँदा नेपाली युवा महाकाली नदीमा हराएका छन् ।
दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।
संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दो षीलाई हदैसमको कारबाहीको माग गरेको छ । केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएका खबर बाहिर आएको थियो ।
सो घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ । आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानविन टोली सोमबार दार्चुला जान लागेको हो ।
समिति सदस्य ज्यत्स्ना भट्टका अनुसार उक्त टोली सोमबार दिउँसो जहाज मार्फत कैलालीको धनगढी हुँदै मंगलबार हेलिकप्टरबाट दार्चुला प्रस्थान गर्नेछ । उक्त टोली सोमबार दिउँसो २ बजेतिर कैलाली प्रस्थान गर्ने बताइएको छ ।
छानविन टोलीका सदस्यहरुले घटनास्थल नजिकैका प्रत्यक्षदर्शीहरुसँग भेटेर घटनाको बारेमा सोधपुछ गर्ने बताइएको छ । व्यास २ का ३३ वर्षीय जयसिंह धामी गत साता भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।