संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थाले
काठमाडौं । संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।
जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए । त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारै ९ हजार ५ सय ५५ पीसीआर र ४ हजार ६ सय ८७ जनाको एन्टीजेन परीक्षण गरिएको छ । कुल संक्रमित संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७३ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।
सोही अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दोक्रममा रहेकोसमेत पाइएको छ । संक्रमण रोकथाम उच्चतम उपाय जनस्वास्थ्य मापदण्ड कार्यान्वयन भएको भन्दै स्वास्थ्य मन्त्रालयले पटकपटक हेलचेक्रयाईं नगर्न आग्रह गर्दै आएको छ । राजधानी दैनिकमा यो खबर छ ।