देउवा एक्लै हिँड्न थालिसके, थाहै नदिएर देउवाले मन्त्री नियुक्त गरेपछि भाँडभैलो
काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवाले पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले झैँ एक्लै निर्णय गरेर खुसुक्क मन्त्री नियुक्त गरेपछि गठबन्धनबीच विवाद सिर्जना भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको थियो । तर देउवाले सो कार्यदलसंग परामर्श नै नगरी आइतवार स्वास्थ्यराज्यमन्त्री नियुक्त गरे ।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे पछि गठबन्धनमा विवाद सुरु भएको हो । कार्यदलका नेताहरुले कार्यदलको औचित्य किन भयो रु भन्दै प्रश्न उठाएका छन् ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको हो । सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर कार्यदलले सरकारलाई राय सुझाव दिने भनिए पनि आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा कार्यदललाई पत्तो नै नदिएपछि कार्यदलमा असन्तुष्टि देखिएको हो ।
खड्काले मन्त्री नियुक्तीवारे आफुलार्ई जानकारी नै नभएको बताएका छन् । खड्का नेतृत्वको कार्यदलको सदस्यमा काँग्रेसका डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव कार्यदलमा छन् ।