करार सेवाका प्रशासन सहायकको करामत, सरकारी राजस्व आफ्नै खातामा जम्ममा

काठमाडौँः सरकारी कोषमा जम्मा गर्नुपर्ने राजस्व आफ्नै खातामा जम्मा गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ का वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक (करार सेवा) रत्नबहादुर विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजस्व हिनामिनाको आरोपमा विकविरुद्ध तथा सो कार्यमा साथ दिएको अभियोगमा अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विकले वडा कार्यालयबाट उठाएका राजस्व व्यक्तिगत खातामा जम्मा गरेको आरोप अख्तियारको छ। अनुसन्धान अवधिमा संकलित २० लाख २० हजार ६७ रुपैयाँ राजस्वमध्ये विकले चार लाख १६ हजार ६०० मात्र सरकारी कोषमा जम्मा गरेको र बाँकी १६ लाख तीन हजार ४६७ रुपैयाँ व्यक्तिगत खातामा जम्मा गरेका थिए।
हिनामिना गरेको रकममध्ये आधार रकम दाखिला भए पनि अन्य रकम हालसम्म दाखिला नभएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले विक र अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिमको कसुर गरेको भन्दै मुद्दा दायर गरेको हो।
हिनामिना गरेको राजस्वमध्ये सात लाख १६ हजार ७१७ रुपैयाँ दाखिला नगरेकोमा विक र अधिकारीबाट असुल उपरको माग अभियोगपत्रमा गरिएको छ। हिनामिना भएको रकमको दोब्बर जरिवाना पनि मागदाबी गरिएको छ।