दुर्घटना भएको विमानका टुक्रा मानिसका घरहरुमा खसे, तर २ सय ३१ जना यात्रु यसरी बाँचे
एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना भएको छ । विमान दुर्घटना भएको भएपनि त्यसमा सवार यात्रु भने सबै सकुशल रहेका छन् । अमेरिकाको डेनभर नजिकै एउटा यात्रु बाहक विमान दुर्घटनामा परेको हो ।
वास्तवमा विमानको एउटा इन्जिनमा खराबी आएको थियो । इन्जिनमा खरावी आएपछि आपतकालीन अवतरणको क्रममा विमानका भग्नावशेषहरु व्यक्तिका घरहरुमा खसेको समाचार छ । तर बोइङ ७७७ को सो विमानमा सवार २ सय ३१ जना यात्रु र १० जना चालक दलका सदस्यहरु सबै सकुशल रहेका छन् ।
विमानका टुक्रा स्थानियका घरमा फेला परेका थिए । तर सो विमानमा सवार कोही पनि घाइते समेत नभएको समाचार छ । विमानको अगाडिको इन्जिनमा खराबी आएपछि उडिरहेको विमानबाट टुक्राहरु टाढा टाढासम्म खसेको थियो । कसैको घरमा त कतै सडकमा टुक्रा खसेका थिए ।
ब्रुमफिल्ड शहरका प्रहरीले विमानबाट खसेका भग्नावशेषका तस्वीरहरु सार्वजनिक गरेका छन् । अमेरिका स्थित संघीय उड्डयन प्रशासनले विमानको दायाँ भागको इन्जिन फेल भएको जनाएको छ ।।