धर्म संस्कृति

थारु समुदायको मौलिक दसैं, नवमीमै सेतो टीका र सखिया नाच

१० कात्तिक, घोराही । दाङका थारु समुदायले पनि मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ ।

उनीहरुले चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् ।

 

दसैं थारु समुदायको माघी र अत्वारी पछिको ठूलो चाड हो । उनीहरु दसैं आउनुभन्दा अगाडि नै माछामासु र दाउरा जोहो गर्ने, किनमेल गर्ने गर्दछन् ।

दसैंलाई उनीहरु पितृ पुर्खा पूजाको पावन अवसरको रुपमा लिन्छन् । सबैले आ–आफ्नो घरमा पूजापाठ गरेर पितृको सम्झना गर्दछन् । पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री, रक्सी आदि चाहिन्छ । पूजापछि परिवारका सबै सदस्य बसेर परिकार खान्छन् । बाँकी बचेका परिकार खोला वा नदीमा सेलाउँछन्, जसलाई उनीहरु पितृ सेलाएको रुपमा ब्याख्या गर्छन् ।

यी सबै प्रक्रिया पूरा गरेपछि टीका लगाउने चलन छ । दाङका थारु समुदायले नवमीको दिन सेतो टीका र मकैको जमरा लगाएर दसैं मनाउँछन् । घरमूली गाउँको अगुवा महतौ (महतवा)को घरमा रक्सीसहित परिकार बोकेर जान्छन् र टीका लगाइमाग्छन् । त्यसपछि घरका अरु सदस्यहरुलाई टीका लगाइदिन्छन् ।

अरु समुदायको सांस्कृतिक प्रभावका कारण कसैकसैले टीकाकै दिन रातो टीका र जौकै जमरा लगाउने चलन पनि चलाएको देखिन्छ ।

संस्कृतिविद डा. गोविन्द आचार्य भन्छन्, ‘थारु समुदायमा राजा टीका र गउँल्या टीका भनेर दुई दिन हुन्छ । नवमीको दिनलाई गउँल्या टीका भन्छन् । अर्को दिनलाई राजा टीका भन्छन् । तर टीका लगाउने चलन भने नवमीको दिनमै सुरु हुन्छ ।’

टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया (सख्या) र बड्का नाच नाच्ने चलन छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण थारु गाउँमा नाचगानको खासै रौनक नभएको दाङ देउखुरी घर भएका पूर्वसभासद योगेन्द्र चौधरी बताउँछन् ।

यद्यपि कतिपयले आफ्नो संस्कृति बचाइराख्न सखिया नाचलाई औपचारिकता भने दिने गरेका छन् । आजभोलि यी नाच लोपोन्मुख छन् । यी नाचगानका विधि प्रक्रिया खर्चिलो भएकाले र पछिल्लो पुस्ता आधुनिकतामा रमाउने गर्नाले बड्का नाच र सखिया नाचको मौलिकता हराउँदै गएको छ । ‘जति ठाउँमा महटवा प्रथा छोडियो, भुइँहार थानमा पूजा गर्ने चलन छोडियो, त्यो छोडे सँगसँगै चाडपर्वमा गरिने धार्मिक अनुष्ठान र सँस्कृति पनि छोडिँदै र सकिँदै गएका छन्,’ सँस्कृतिविद डा. आचार्यले भने ।

आधुनिकतासँगै थारुका मौलिक परिकार बनाउने चलन पनि घट्दै गएको डा. आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *