Logo

आज बडा दशैंका महाअष्टमी, शक्ति स्वरुपा महागौरी पूजाआरधना गरि मनाइँदै



काठमाडौं । शनिबार (आज) आश्विन शुक्ल अष्टमी अर्थात बडादशैंको नवरात्र अन्तर्गतको महाअष्टमी मुलुकभरशक्ति स्वरुपा महागौरीको पूजा आराधना गरि मनाइँदै छ ।

महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपूर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू पनि जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दशैँघरमा महाअष्टमीको मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाईंका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ ।

यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।

बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ ।

यसवर्षको दशैंको टीकाको शुभ साइत कात्तिक १० गते विहान १०ः१९ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता