राजदेवी मन्दिर– जहाँ १० दिनसम्म नारीलाई प्रवेशमा रोक लगाइन्छ

जनकपुर । समाजमा लैंगिक समानताको कुरा जोडतोडले उठे पनि अझै कतिपय क्षेत्रमा विभेद कायम देखिन्छ ।
जनकपुरधामको एक मन्दिरमा बडा दसैँको १० दिनसम्म नारीलाई प्रवेशमा रोक लगाउने गरिएको छ । साक्षात देवीको मूर्ति रहेको राजदेवी मन्दिरमा नवरात्रि सुरु भएपछि पुरुष श्रद्धालुले मात्र पूजा एवं दर्शन गर्न पाउँछन् । महिलालाई भने सो अवधिमा मन्दिर प्रवेशमा रोक लगाउने गरिन्छ ।
प्रसिद्ध राजा जनककी कुलदेवी मानिएकी राजदेवीको दर्शनका निम्ति दसैँको १० दिनसम्म पुरुष श्रद्धालुले मन्दिरभित्र प्रवेश पाउने भए पनि महिलालाई मन्दिर प्रवेशमा रोक लगाइनुका साथै झ्यालबाटै पूजा आराधना गर्ने व्यवस्था मिलाइएको हुन्छ ।
नवरात्रि बाहेकको अवधिमा भने यस प्रकारको विभेद नगरिने राम मन्दिर तथा राजदेवी मन्दिरका महन्त राम गिरीले बताए । आफूहरुले परम्परादेखि चल्दै आएको मूल्यमान्यतालाई विधिको रुपमा लिएको बताउँदै उनले सो परम्परालाई तोड्न नसक्ने प्रस्ट पारे । उनले भने, ‘वर्षौँदेखि चल्दै आएको परम्परा र विधिलाई तोड्न मिल्दैन ।’
दसैँको दश दिनसम्म नारी आदि शक्तिको अलग अलग स्वरुपलाई निष्ठापूर्वक पूजा आराधना गरिए पनि आजको युगमा महिलालाई मन्दिरभित्र प्रवेश निषेध गरिनु लैंगिक विभेदको एउटा नमूना रहेको महिला अधिकारकर्मी एवं अधिवक्ता रेखा झा बताउँछिन् ।