Logo

यस वर्ष नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र गरिने



काठमाडौँ – नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो ।

पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगाय
त प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।

गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ । आम मानिसलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो । नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता