Logo

शारदीय नवरात्र प्रारम्भ, आज घटस्थापना, यस्तो छ पूजा विधि



काठमाडौं । आश्विनमासको शुक्ल प्रतिपदा अर्थात आजकै दिनबाट हिन्दूधर्मावलम्बीहरुको महान चाड दशै सुरु हुदैछ । एक महिनाअघि शुरु भएको अधिकमास ३० गते राति ०१ बजेर ५३ मिनेटमा सकिएसँगै आज १ गतेबाट हिन्दुधर्मालवम्बीहरुको महान चाड दशै सुरु भएको हो । असोज १ गते प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरि नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।

देवी पुराणमा स्यमं देवीले भन्नुभएको छ । शरद्ऋतुको जुन प्रतिपदा तिथिमा द्धितीया पनि यूक्त हुन्छ त्यसमा पूजन गर्नाले अव्यय–अविनाशी फल प्राप्त हुन्छ । यदि कसैले औंसीसँग जोडिएको प्रतिपदामा मेरो स्थापना गर्दछ भने त्यसलाई हजारौं सराप दिई खरानि तुल्याउनेछु । थाहा पाउँदापाउँदै पनि आफ्नै आग्रहका कारण कसैले अमायुक्त प्रतिपदामा कलश स्थापना गर्दछ भने त्यसको सम्पत्ति नाश हुनुका साथै जेठो छोरोको मृत्यु पनि हुन्छ । त्यसैले अमायुक्त प्रतिपदा लिनु हुदैन । त्यसकारण कार्तिक १ गते अर्थात आजकै दिन घटस्थापना गर्नुपर्दछ र घटस्थापनाको उत्तम साईत बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको छ ।

कलश स्थापना

सूर्यदयदेखि १० घडिसम्मको समयमा घटस्थापना गरि तिलको तेलद्धारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पुजा गरिन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।

शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप–शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ ।

अनि जलपूर्ण कलशमा चन्दन,सर्वौषधि,दूबो,पञ्चवल्लव,सप्तमृत्तिका,फल,पञ्चरत्न,सुवर्ण र वस्त्र चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले ध्यानपुर्वक पूजा गरिन्छ । दशैंघर, घटस्थापना स्थलमा दुर्गा, सप्तशति, चण्डी र भगवतीको स्तोत्र पाठ गर्नुपर्दछ ।

दूर्गासप्तशतिको पाठ

नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुपर्दछ र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुपर्दछ । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्दछ । यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गरि देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्तर्गत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्दछ ।

विचार गर्नु पर्ने कुरा

यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुपर्दछ । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बाँयातर्फ राख्नुहोस् ।

पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस्ः

ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।
यः स्मरेत् पुण्डरीकाक्षं सः बाह्याभ्यंतरः शुचि ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्ष पुनातु ।।

नमो दैव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृतयै भद्रायै नियताः प्रणताः स्मताम ।।
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ।।

ज्यो.दुर्गा भण्डारी ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता