Logo

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा



 

काठमाडौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका छन्।

‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ। कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेश सभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ। म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।’ उनले गठबन्धन दलले जसरी बदनियतपूर्वक पार्टी फुटाएर सरकारमा बस्न नसक्ने बताए।

आचार्य हटाउन जुटेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा राखिएको थियो।

उनी गत भदौ १० गते प्रदेश १ का दोस्रो मुख्यमन्त्री बनेका थिए। आचार्यले गत कात्तिक ५ गते विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका थिए। उनले गत कात्तिक ७ गते संसदमा विश्वासको मत लिने मिति तोकिएको थियो। तर, कांग्रेस र एमाले दुवै दलले संसद स्थगन गर्न माग गरेपछि विश्वासको मत लिन पाएनन्।

अहिले प्रदेश १ मा ९२ सांसद छन्। जसमा एमालेका ४१ सांसद छन्। विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो। विश्वासको मत लिन आवश्यक ६ मत जुटाउन नसकेपछि आचार्य बाहिरिएका हुन्।

विपक्षी गठबन्धनमा ५० सांसद छन्। जसले केन्द्रको सहमति अनुसार एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री हुन सजिलो भएको छ। प्रदेश १ मा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकजना छन्।

अर्कातिर एक सिटसहितको राप्रपाले कसलाई सघाउने भन्ने औपचारिक निर्णय लिएको थिएन। प्रदेश १ मा अब गठबन्धनबाट भोजपुरबाट निर्वाचित एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्। आचार्य अगाडि पनि भोजपुरकै शेरधन राई मुख्यमन्त्री थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता