कमला ह्यारिसकी छोरीको दुर्गा माताको ट्वीट विवादमा

काठमाडौँ। अमेरिकी डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसकी छोरी पर्ने मीना ह्यारिसको ट्वीट विवादमा घेरिएको छ। कमलाकी दिदी माया ह्यारिसकी छोरी हुन्, मीना । मीनाले गरेको उक्त ट्वीट अमेरिकाको हिन्दू समुदायले विरोध गरेका छन्। उनले माता दुर्गाको तस्बिरमा कमला ह्यारिसको अनुहार हालेर ट्वीट गरेकी छिन्।
मीनाले उक्त तस्बिर सार्वजनिक गरे पश्चात हिन्दू समुदायले यसका लागि माफी माग्न आग्रह गरेका थिए। पेशाले वकिल हुन्, ३५ वर्षीय मिना ह्यारिस। यसका साथै उनले बालबालिकाका लागि किताब पनि लेख्ने गर्छिन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत माता दुर्गाको तस्बिरमा उनले कमला ह्यारिसको अनुहार लगाएकी थिइन् भने दुर्गाको बाहन सिंहमा जो बाइडेनको अनुहारलाई प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी, तस्बिरमा महिषाशुरको संज्ञा दिंदै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्तुत गरेकी छिन्। ट्विटरमा यस्तो तस्बिर सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भएको छ। आलोचना बढेसँगै मिनाले उक्त ट्वीटलाई हटाएकी छिन्।