Logo

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त



काठमाण्डौं,भदौ १३ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् ।

गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुनेछिन् ।

अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् ।

हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरीयतामा थिए ।

तर चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेदेखि नयाँ मुख्यसचिवको दौड सुरु भइसकेको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई कामु मुख्य मुख्यसचिवको जिम्मेवारी दियो । असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।

नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई मुख्य सचिव बनाएसँगै अर्यालको सम्भावना बढेको थियो ।

प्रधानमन्त्री ओलीसँग निकट सम्बन्धका कारण सबैभन्दा बलियो दाबेदार थिए । बिहीबार उनी मुख्य सचिव बनेसँगै पहिलो नम्बरका सचिव ज्ञवाली ५ वर्षे सेवा अवधि पूरा गरेर २२ भदौमा अवकाशमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता