मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द
काठमाण्डौं,भदौ १० । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ ।
मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।