माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी
सुर्खेत,असार २५ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी चयन भएका छन् ।
दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतक चयन गरेका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका हुम्लाबाट निर्वाचित सांसद रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री भएका छन् । परियार मन्त्री भएदेखि प्रमुख सचेतक पद रिक्त रहेको थियो ।
सुर्खेत क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित सांसद जिसी यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत भइसकेका थिए । मन्त्री हुँदा उनलाई प्रवक्ताको जिम्मेवारी समेत दिइएको थियो ।