Logo

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही कै योजनालाई निरन्तरता



सुर्खेत,जेठ २४ । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो कार्यकालमा प्रस्तुत गरेका निती तथा कार्यक्रमलाई नै निरन्तरता दिएको देखिएको छ । प्रदेश प्रमुख तिलक परियारले पनि विगतका नीति तथा कार्यक्रमलाई मार्गदर्शनको रुपमा लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारिएको बताएका छन् ।

अहिलेको निति तथा कार्यक्रममा ‘स्वस्थ माटो स्वस्थ जीवन,’ ‘एक पालिका एक कृषक पाठशाला,’ ‘प्राङ्गारिक मल र जैविक विषादी उत्पादन ढुवानी तथा बिक्री मूल्यमा अनुदान,’ ‘कृषकका लागि घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन,’ ‘सुर्खेत प्रवेश गर्ने प्रमुख नाकामा कृषि क्वारेन्टाइन,’ ‘प्राङ्गारिक मल र जैविक विषादी उत्पादन ढुवानी तथा बिक्री मूल्यमा अनुदान’ कार्यक्रम पुर्व मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा ल्याई सक्नु भएको थियो । त्यस्तै भूकम्प प्रतिरोधी आवास निमार्णका लागि दक्ष कामदार तयार गर्न तालिमको योजना लगायतका कार्यक्रम शाही कै पालामा रहेको जानकारहरुले बताएका छन् ।

यस्तै कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गर्ने, प्रदेश र जिल्ला अस्पतालमा ज्येष्ठ नगारिक र अशक्त, अपांगता भएकाहरुका लागि छुट्टै वार्डको व्यवस्था मिलाइने पनि जनाइएको छ ।

दुर्गम हिमाली जिल्लाका स्थानीय तहमा आवधिक विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने, सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन कार्यक्रम सञ्चालन गरिनुका साथै प्रदेश मातहतका राष्ट्रसेवक कर्मचारी र उनीहरुका परिवारको स्वास्थ्य बिमा अनिवार्य गरिने विषय पनि समेटिएको छ । अटिजम, मानसिक तथा मनोसामाजिक अवस्थाको पहिचान, व्यवस्थापन र पुन:स्थापनासम्बन्धी कार्यक्रम र क्यान्सरबाट जोगाउनको लागि प्रदेशभर बृहत् स्क्रिनिङ शिविर सञ्चालन गरिने भएको छ ।

यस्तै सार्वजनिक विद्यालयको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ लागू गर्ने लगायत सरकारको नीति तथा कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता