Logo

श्रीराम सुगर मिल बन्द हुँदा ५८० जनाले रोजगारी गुमाए



काठमाडौं– रौतहटस्थित श्रीराम सुगर मिल बन्द हुँदा प्रत्यक्ष रुपमा ५८० जनाको रोजगारी गुमेको छ।

उखु उत्पादक संघका अनुसार मिल बन्द हुँदा ३३० जना स्थायी श्रमिक, कर्मचारी र साढे दुई सय जना करार गरी ५८० जना बेरोजगार भएका छन्।

संघका वरिष्ठ उपाध्यक्ष रामप्रमोदप्रसाद यादवले उद्योग सञ्चालन हुँदा धेरैले अप्रत्यक्ष रोजगारी पाए पनि बन्द हुँदा ती व्यक्तिको समेत आयस्रोत खोसिएको जानकारी दिए। आइतबार उखु उत्पादक संघले प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई भेटेर हाल सुगर मील बन्द रहेकोले उद्योग पुनः सञ्चालन हुनुपर्ने माग राखी सो कुरा बताएका हुन्।

कम्पनी बन्द हुँदा किसान र कर्मचारी, श्रमिक र मालिक सबैलाई समस्या भएको वरिष्ठ उपाध्यक्ष यादवले जानकारी दिए। सो मिल सञ्चालन हुँदा रौतहट जिल्लाका झण्डै १८ हजार किसानको उखु खपत हुने थियो। अहिले ती किसानले गरेको उखु खेती खेर गइरहेको छ।
‘मिल सञ्चालकले पनि वार्षिक अर्बौं आम्दानी गरेका थिए। त्यस्तै किसानहरुले पनि आफ्नो हातमा रकम पाएका थिए। तर अहिले उद्योग बन्द हुँदा यहाँ समस्या बढेको छ। यहाँका किसानलाई दैनिक छाक टार्न र सन्तानलाई पढाउन समेत समस्या भएको छ। त्यसैले तत्काल उद्योग सञ्चालनका लागि सरकारले पहल गरोस्,’ यादवले श्रीवास्तवसमक्ष भने।

उखु उत्पादक संघ र श्रीराम सुगर मिलविच पटकपटक रकम भुक्तानी गर्ने सम्झौता भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन। २०७३ असोजमा किसानको आव २०७१–०७२ को भुक्तानी दसैँ पहिले गर्ने गरी सम्झौता भएको थियो।

त्यतिबेला कम्पनीले किसानलाई थोरै मात्रै भुक्तानी गरेको थियो। त्यसपछि २०७४ वैशाख र जेठमा किसानको भुक्तानी गर्ने सम्झौता भए पनि अझैसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। पछिल्लोपटक गत पुसमा कम्पनीले किसानसँग चिनी र स्पिरिट बेचेर बाँकी भुक्तानी गर्ने सहमति भए पनि केही रकम मात्रै भुक्तानी गरेको छ।

संघले भने विगतमा भएको सम्झौता अनुसार नै बक्यौता रकम पाउनुपर्ने माग राख्दै आएको छ। उसले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाउँदै आएको छ। त्यस्तै संघले सो कम्पनीमा कार्यरत कर्मचारीले पाउनुपर्ने चार करोड रुपैयाँ (कर्मचारीको पाँच महिनाको तलबभत्ता र डेढ वर्षको सञ्चयकोष समेत) पाउन बाँकी रहेकोले सोको पनि भुक्तानी गर्नुपर्ने माग राखेको छ।

त्यस्तै किसानको आर्थिक वर्ष २०७१–०७२ को १२ करोड रुपैयाँ, आव २०७५–०७६ को २८ करोड ५० लाख रुपैयाँ र गत आर्थिक वर्षको ५० लाख रुपैयाँ बक्यौता गरी ४१ करोड रुपैयाँ सो मिलले किसानको नै तिर्न बाँकी छ। कर्मचारीको चार करोड रुपैयाँ जोड्ने हो भने सो कम्पनीबाट ४५ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ।

किसानको भुक्तानी बाँकी रहेकै अवस्थामा जिल्ला प्रशासन कार्यालय रौटहटले गत साउन ११ गते कम्पनी सदाको लागि बन्द गर्ने निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता