Logo

विद्युत् आपूर्ति नहुँदा बन्द भयो नेपाली कागज उद्योग



असोज २५, गलकोट । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो सात महीनादेखि बन्द छ ।

केन्द्रीय विद्युतको पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युतको उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो । पाण्डवखानीको सामुदायिक तथा निजी वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर रानाले चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालन गर्दे आएका थिए ।

लघु जलविद्युतबाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो ।‘सात महीनादेखि हाते कागज उद्योग पूर्ण रुपमा ठप्प बनेको छ’, उद्योग सञ्चालक चुडाबहादुर रानाले भने, ‘केन्द्रीय विद्युत् नभएसम्म उद्योग चल्न नसक्ने भयो, उद्योगमा केन्द्रीय विद्युत् ल्याउने पहल भइरहे पनि केही महीना लाग्ने भयो ।’

लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौं विक्री हुँदै आएको थियो ।

‘लघु विद्युतले नधानेपछि जेनेरेटर समेत किनेर ल्याए तर, केही सीप लागेन’ उनले भने, ‘शुरुमा सिक्दासिक्दै घाटा भयो, अहिले विद्युत् नहुँदा लगानी डुब्ने अवस्था आएको छ ।’ हाते कागज उद्योगमा झण्डै रू.५० लाखभन्दा बढी लगानी गरिसकेको रानाले बताए ।

पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत् उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो । उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिंदै आएको थियो ।

उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युतले जम्मा १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ ।

उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रू. ८ देखि ४० पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा विक्री गरेका रानाले कागजबाटै वार्षिक रू. ३० लाखको आर्थिक कारोबार गर्दै आएको बताउँन् । उद्योगमा अहिले २१५ थान कागज सुकाउने फ्रेम रहेका छन् । केन्द्रीय विद्युत् गाउँ आउना साथ फ्रेम थपेर ५०० पुर्‍याउने उनको लक्ष्य छ

बाग्लुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता