Logo

अर्थमन्त्रालय : जसले अरु मन्त्रालयलाई जे निर्देशन दियो त्यही आफूले पालना गरेन



असोज २३, काठमाण्डौ । सरकारले देशमा भएको विषम परिस्थीतिका कारण विभिन्न शिर्षकमा हुदै आएको खर्चलाई कटौती गर्नु गराउनु भन्दै अर्थमन्त्रालयले अन्य मन्त्रालयलाई निर्देशन दिएको थियो । तर अर्थ मन्त्रालयले नै आफैले दिएको निर्देशन उल्लंघन गरेको छ । । मन्त्रालयले गत असार महीनामा आफ्नै निर्णय विपरीत ३७ लाख रुपैयाँका यस्ता सामग्री खरीद गरेको पाईएको हो ।

अर्थमन्त्रालयले गत वर्षको चैत १९ गते सवारी साधन, फर्निचर, मेसिनरी र औजार लगायतका वस्तु खरीद नगर्ने तथा तालीम गोष्ठी आदिको फजुल खर्च रोक्नु भन्दै दिएको निर्देशन कार्यान्वयन हुन सकेन । मन्त्रालयले गत चैत २० गते विभिन्न निकाय र मन्त्रालयका प्रमुखहरुलाई पत्र पठाएर कोरोनाभाइरस संक्रमणविरुद्ध लड्न रकम जोहो गर्नुपर्ने भएकाले यस्ता फजुल नियन्त्रण गर्ने निर्णय गरेको जानकारी सहित पत्र पठाएको थियो ।

तर, आफ्नै निर्णय अर्थ मन्त्रालय आफैंले उल्लंघन गरेको छ । मन्त्रालयले गत असार महीनामा आफ्नै निर्णय विपरीत ३७ लाख रुपैयाँका यस्ता सामग्री खरीद गरेको पाईएको छ । आर्थिक वर्षको अन्तिम महीनामा बजेट सक्ने चटारोमा मन्त्रालयले ९ लाख ८८ हजारको सवारी साधन (मोटरसाइकल), १८ लाख ८५ हजारको मेसिनरी तथा औजार, ५ लाखको फर्निचर, ३ लाख रुपैयाँको सफ्टवेयर खरीद गरेको भन्दै रकम निकाशा गरेको पाईएको छ ।

त्यसैगरी, अर्थमन्त्रालयलले १० लाखको पूँजीगत सुधार तथा सार्वजनिक निर्माण शीर्षकमा खर्च गरिएको भन्दै रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले सूचनाको हक बमोजिम सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको अन्तिममा यो खर्च गरेको देखिएको छ । आर्थिक वर्षको ११ महीनासम्ममा कर्मचारीको बैठक भत्ताबापत १० लाख ६४ हजार खर्च भएकोमा आर्थिक वर्षको अन्तिम महीनामा मात्र बैठक भत्ताबापत १२ लाख ७९ हजार ५ सय रुपैयाँ बाँडिएको छ ।

आर्थिक वर्षको अन्तिम महीनामा बाँकी ११ महीनाभन्दा बढी बैठक भत्ता वितरण गरेको छ । जुन वितरण अर्थ आफैले पठाएको पत्रको उल्लंघन गरेको प्रष्ट भएको छ । यसैगरी, कर्मचारीले लिने अन्य भत्ता समेत आर्थिक वर्षको अन्तिम महीना असारमा १ करोड ३ लाख रुपैयाँ बाँडिएको छ । अघिल्ला ११ महीनामा यस्तो अन्य भत्ता १ करोड ८ लाख रुपैयाँ बाँडिएको थियो ।

अघिल्ला ११ महीनामा कर्मचारी तालिमका लागि रकम खर्च नगरेको अर्थ मन्त्रालयले अन्तिम महीना असारमा आएर कर्मचारी तालिमका लागि भन्दै ५ लाख रुपैयाँ खर्च गरेको विवरण उठाइएको छ । अघिल्ला महीनाहरुमा सवारी साधनको इन्धनका लागि मासिक औसत ७ लाख ६६ हजार खर्च भएकोमा अन्तिम महीना असारमा सो खर्च दोब्बरले बृद्धि भएको छ । असारमा सवारी साधनको इन्धनका लागि मात्रै १४ लाख १६ हजार रुपैयाँ खर्च गरिएको पाइएको छ ।

अघिल्ला महीनाहरुमा सवारी साधनको मर्मतका लागि मासिक ६ लाख ९१ हजार खर्च भएकोमा यस वर्षको असार महीनामा मर्मतका लागि तीन गुणाले बृद्धि भई १८ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्षको अन्तिममा जथाभावी खर्च गर्नुले अर्थ मन्त्रालयमा खर्चको नाममा अनियमितता भएको आरोप अहिले लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता