Logo

कोरोनाको संकटका बीच भित्रियो दशैं, घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा



काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।

पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । आजदेखि नवरात्री आरम्भ हुन्छ ।

यस दिन घर घरमा जमरा राखेर कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।

यस दिन बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने गरिन्छ ।

माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।

यसैगरी माटोको शुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरी घडाको वरिपरि जौ छर्ने गरिन्छ ।

त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।

नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गा पूजा, आराधना र प्रार्थना गरिन्छ ।

दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । घटस्थापनामा राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

यसैबीच दसैं सुरु भएपनि विभिन्न शक्तिपीठहरुमा नित्य पूजा मात्र हुने भएको छ । कोरोना महामारी सुरु भएपछि बन्द रहेका मठ मन्दिरमा सर्वसाधराणलाई प्रवेशमा अझै रोक लगाइएको छ ।

यसैबीच कोरोना महामारीको संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने तयारीमा जुटेका छन् ।

सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसैं मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् ।

यसपालिको दसैंमा कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता