Logo

बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्डको सजाय हुनसक्ने



ढाका : बंगलादेशमा अब बलात्कारका अपराधीलाई मृत्युदण्ड दिन सकिने कानुनी प्रावधान जारी गरिएको छ ।

 

यहाँको सरकारले हालै कानुन संशोधन गरी बलात्कारको अपराधको हकमा अधिकतम सजायको रुपमा मृत्युदण्डसम्म दिन सकिने कानुनी प्रावधान जारी गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट यही मंगलबार उक्त कानुन जारी हुनेछ ।

स्थानीय मिडियाका अनुसार गत साता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो। सोही विषयलाई लिएर राजधानी ढाकामा विशाल प्रदर्शन भएको थियो । धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

बंगलादेशमा पछिल्लो समय बलात्कार तथा सामूहिक बलात्कारका घटना बढ्न थालेपछि यस्तो अवस्थालाई सम्बोधन गर्न नयाँ कानुन ल्याउन सरकारलाई दबाब परेको बताइन्छ । ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेका वा अन्य सामूहिक बलात्कारका भिडियो सार्वजनिक भएपछि संघसंस्था र अधिकारकर्मीले यसविरुद्ध कानुन बनाउनुपर्ने माग गर्दैआएका थिए ।

बीबीसमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार ऐन ओ सलिश केन्द्र नामक एक मानवाधिकारवादी संस्थाले ९ महिनाको अवधिमा बंगलादेशमा कम्तीमा ९ सय ७५ जना महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक गरेको छ । र तीमध्ये २ सय भन्दा बढी घटना सामूहिक बलात्कारका थिए।

साथै पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको उक्त संस्थाको तथ्याङ्क छ। यद्यपि धेरै घटना जानकारीमा नआउने भएकाले बाङ्गलादेशमा बलात्कारको वास्तविक सङ्ख्या धेरै भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता