प्रचण्ड भन्छन् ‘केपी ओलीका लागि दुर्भाग्य, अब उनी बढारिन्छन्’
काठमाडौ । सर्वोच्च अदालतको संसद पुनस्थापना गर्ने फैसलालाई नेकपा एमालेको केपी शर्मा ओली पक्षले राजनीतिक फैसला भन्दै यसले गम्भिर राजनीतिक संकट उत्पन्न गर्ने भनेर प्रतिकृया दिइरहेका बेला विपक्षी दलहरुले भने स्वागत गरेका छन् ।
सर्वोच्चको फैसला आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रारम्भिक प्रतिकृया दिँदै आफुलाई निकै खुसी लागेको बताएका छन् । उनले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भन्दै आफु त्यसको कार्यान्वयका लागि पनि विश्वस्त भएको बताएका छन् ।
उनले जनताले पनि यो फैसलाको स्वागत गरेको प्रतिकृया दिएका छन् । उनले जनताको पक्षमा फैसला गरेको भन्दै त्यस्तो फैसला सुनाउने न्यायाधीसहरुलाई पनि धन्यवाद दिएका छन् । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ सकेको बताउँदै उनले केपी शर्मा ओलीले ठूलो ऐतिहासिक अवसर गुमाएको पनि टिप्पणी गरे । अब उनले फैसला कार्यान्वयन नगर्ने दुस्साहस ओलीले गर्ने कोसिश गरे जनताले बढार्ने समेत बताए ।
अब शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको पक्षमा काम गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । साथै अब देशमा वामपन्थीहरूको एकता र राष्ट्रिय एकतासमेत हुने उनले दाबी गरे । दुई तिहाईको सरकार बनाउने ठूलो अवसर पाएर पनि त्यसको सम्मान गर्न नसक्नु ओलीका लागि दुर्भाग्य भएको बताए । ऐतिहासिक अवसरको रक्षा गर्न नसक्दा ओलीका लागि दुर्भाग्य सावित भएको उनको भनाई छ ।
हामी निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रेको अवस्थामा संविधानवादको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षामा सर्वोच्च अदालतको यो फैसलाले दूरगामी र ऐतिहासिक महत्त्व राख्ने उनको भनाई छ ।